शंकास्पद अवस्थामा युवकको मृत्यु, मृतककी श्रीमतीसहित दुई जना पक्राउ

by समतल अनलाइन
Shares

सिरहा । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले मृतककी श्रीमतीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेपछि उक्त घटना रहस्यमय देखिएको हो। स्थानीय छिमेकीको खेत नजिकै रहेको आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले घटना शंकास्पद रहेकाले मृतककी श्रीमती र अर्का एक युवकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताए।

उनका अनुसार शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता थप स्पष्ट हुने प्रहरीको भनाइ छ।

यस घटनाले गाउँमा त्रास फैलिएको छ भने प्रहरीले घटनास्थल आसपासका बासिन्दासँग सोधपुछ र आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक चरणमै दुई जनालाई नियन्त्रणमा लिइएको हुँदा हत्या भएको आशंकामा थप प्रमाण संकलन भईरहेको प्रहरी स्रोतले जनाएको छ।

You may also like

This will close in 0 seconds