बुटवलमा रोजगार मेला १८ गते, सयौं युवालाई रोजगारी दिलाउने लक्ष्य

by समतल अनलाइन
Shares

बुटवल । रोजगारी र सीप विकासका अवसरलाई एकैथलोमा जोड्ने उद्देश्यसहित “बुटवल रोजगार मेला २०८२” बुधबार आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाले आयोजना गर्न लागेको एकदिने मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत उपमहानगरले मेला सम्बन्धी जानकारी सार्वजनिक गर्दै, यसले रोजगारी खोजिरहेका युवादेखि लिएर कामदार आवश्यक परेका रोजगारदाता कम्पनीहरूलाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको बताएको हो ।

मेलाको आयोजना कालिकानगरस्थित दियालो फुडल्यान्डमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । उपमहानगरका प्रवक्ता शिव रानाका अनुसार मेला रोजगार सृजना र आपूर्ति दुबैलाई सहज बनाउने प्लेटफर्म हुनेछ । उनका अनुसार पालिकाले आर्थिक समृद्धिका लागि रोजगारी सिर्जना गर्नुपर्ने ठान्दै विगत केही वर्षदेखि रोजगार मेलाको पहललाई निरन्तरता दिँदै आएको छ ।

मेलाको आयोजनाले मानवीय विकास, सूचना पहुँच र व्यावसायिक समन्वयलाई जोड्ने प्रयास गर्दै आएको छ । प्रवक्ता रानाका अनुसार यस वर्षको मेला रोजगारदाता, सेवा प्रदायक संस्था र सीप तालिम प्रदायक संस्थाहरूबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने माध्यम बन्नेछ । यस्तै, मेलामा सहभागी संस्थाहरूको विवरण संकलन गरी “बुटवल रोजगार पोर्टल” मा अभिलेखिकरण गरिने जानकारी पनि दिइएको छ ।

“समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर” भन्ने नारालाई मूर्त रूप दिने प्रयासमा रहेको उपमहानगरपालिकाको यो मेला उद्योग, पर्यटन, सेवा, कृषि, सूचना प्रविधि, उत्पादन लगायत विविध क्षेत्रका सम्भावनाहरू समेट्न केन्द्रित हुनेछ । उपमहानगरको रोजगार शाखा प्रमुख अरविन्द्र पाण्डेका अनुसार रोजगारी खोज्ने युवाहरू, दक्ष जनशक्ति, रोजगारदाता र तालिम प्रदायकहरूलाई एउटै स्थानमा ल्याई कामको माग र आपूर्ति सन्तुलनमा ल्याउने उद्देश्य रहेको छ ।

यही मेलामा वृत्तिविकास तथा सीपमूलक परामर्श दिने कार्यक्रमसमेत समावेश गरिएको छ । सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालका अनुसार मेलामा विभिन्न तालिम प्रदायक संस्थाहरूले आफ्ना सेवा तथा तालीमका अवसरबारे जानकारी दिनेछन् । साथै, विज्ञहरूद्वारा निःशुल्क सीपमूलक तालिमसम्बन्धी जानकारी प्रदान गरिनेछ ।

हालको अवस्थालाई हेर्दा अध्ययनपश्चात विदेशिने प्रवृत्ति तीव्र हुँदै गएको अवस्थामा, स्वदेशमै अवसर खोज्ने र आत्मनिर्भर बन्न चाहने युवालाई मार्गदर्शन र प्रेरणा दिने उद्देश्य पनि मेलासँग जोडिएको छ । बुटवल उपमहानगरपालिका विश्वास गर्छ—यो मेलाले युवालाई रोजगारीको लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न सहयोग पुग्नेछ ।

गत वर्ष आयोजित मेलाबाट ३८ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए भने यसपालि सयौंले रोजगारी पाउने अपेक्षा गरिएको छ । रोजगारी मात्र होइन, सीप, आत्मविश्वास र अवसरप्रति युवाहरूमा सकारात्मक सोच जगाउन पनि मेलाले भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

You may also like