एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट: अपराजित नेपाल सेमिफाइनलमा

by समतल अनलाइन
Shares

काठमाडौं । नेपाल यु–१६ क्रिकेट टोली अपराजित यात्रा कायम राख्दै एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार लिग चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि २९८ रनको प्रचण्ड जित निकाल्दै अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो ।

नेपालले यसअघि सिंगापुर, जापान र इन्डोनेसियालाई पनि पराजित गरेको थियो । चारै खेलमा सहज जित दर्ता गर्दै नेपाल समूह ‘ए’ को शिर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । नेपालसँगै सिंगापुरले पनि अन्तिम चारमा स्थान बनाएको छ ।

भुटानविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारण ५० ओभरमा ५ विकेटको क्षतिमा ३५८ रनको विशाल योगफल खडा गर्‍यो । नेपालका ओपनर रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको उत्कृष्ट शतकिय पारी खेले । यस्तै, जोए थापाले ६१ रन र शिवान्श बजगाईंले ५४ रनको योगदान गरे ।

बलिङमा कमजोर देखिएको भुटानले जवाफी ब्याटिङमा संघर्षपूर्ण अवस्था व्यहोर्नुपर्‍यो । ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमै ९ विकेट गुमाएर ६० रनमै सिमित रह्यो । भुटानका एक खेलाडी ‘रिटायर्ड हर्ट’ भएकाले टोलीले दश विकेटै गुमाएन । नेपालका बलर विपिन शर्माले घातक बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित मात्र ७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, सुयोग भट्टराई र सचिन भट्टले समान २–२ विकेट लिए ।

एसीसी (एसियाली क्रिकेट परिषद्) को आयोजनामा भइरहेको प्रतियोगितामा १० राष्ट्र सहभागी छन् । नेपाल, सिंगापुर, जापान, भुटान र इन्डोनेसिया समूह ‘ए’ मा छन् भने आयोजक मलेसियासँगै हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार समूह ‘बी’ मा छन् । दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ ।

नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । सन् २०२३ मा सम्पन्न प्रतियोगिताको फाइनलमा मलेसियालाई हराउँदै नेपालले उपाधि चुमेको थियो । यसपटक पनि शतप्रतिशत जितसहित अन्तिम चार पुगेको नेपालले उपाधि रक्षा गर्ने बलियो संकेत दिएको छ । फाइनल खेल असार २१ गते अर्थात ५ जुलाईमा हुनेछ ।

You may also like

This will close in 0 seconds