बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकाबाट तीन नेपाली बालिकालाई भारत लैजाने प्रयास भइरहेको समयमा प्रहरीले उनीहरूलाई उद्दार गरेको छ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असार १५ गते दिउँसो साढे ३ बजे शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालीदहबाट खटिएको टोलीले तीन बालिकालाई भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा सीमामा फेला पारेको थियो। तत्कालै प्रहरी टोलीले उनीहरूलाई रोक्दै चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशको गोरखपुर जिल्लाको कैम्पियरगंज कुवर बलुवाकी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, २६ वर्षीय प्रमोद कुमार धोबी तथा नेपाल रुपन्देही गैडहवा गाउँपालिका–६ की १९ वर्षीया निर्मला लोध रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सीमाक्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै नेपाली बालबालिका र किशोरीहरूलाई प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्यमा संलग्न थिए। नियन्त्रणमा लिइएका चारै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए।
सुरक्षा निकायहरूका अनुसार सीमावर्ती क्षेत्रमा बालबालिका, किशोरी तथा महिलालाई विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाने कार्य अझै पनि चुनौती बनेको छ। यस्तो अपराध नियन्त्रणका लागि प्रहरीले नेपाल–भारत सीमामा निगरानी कडा बनाउँदै आएको छ।