तीव्र गतिमा निर्माण हुँदै लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन, तीन वर्षमै सम्पन्न गर्ने लक्ष्य

by समतल अनलाइन
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारअन्तर्गतको बहुप्रतिक्षित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण तीव्र गतिमा अगाडि बढेको छ। निर्माण सम्झौताअनुसार पाँच वर्षको समय दिए पनि लुम्बिनी पूर्वाधार विकास प्राधिकरणले ३ वर्षमै काम सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलले हालसम्मको कामको गति हेर्दा निर्धारित समयभन्दा अगाडि नै निर्माण सकिने विश्वास व्यक्त गरे। उनले भने, “निर्माण कम्पनीसँग ५ वर्षको सम्झौता भए पनि ३ वर्षभित्रै सकिन्छ भन्ने लागेको छ। प्राकृतिक विपत्ति वा ठूलो आर्थिक संकट नआएमा यो लक्ष्य पूरा गर्न सकिन्छ।”

हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको प्राधिकरणले जनाएको छ। करिब चार महिनाअघि पुराना भवन हटाएर (साइट क्लिरियन्स) नयाँ निर्माण सुरु गरिएको हो।

प्राधिकरणका साइट इन्जिनियर शंकर सुवेदीका अनुसार मुख्य भवनको दायाँ, बायाँ र बीच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ। दोस्रो बेसमेन्टको ढलान सकिएको छ भने पहिलो बेसमेन्टको छड बुन्ने काम जारी छ। साथै, क्यान्सर उपचार भवनको र्याफ्ट फाउण्डेसनको ढलानसमेत पूरा भइसकेको छ।

“बर्खामा पनि पानी परेको समय बाहेक निर्माणको काम रोकिने छैन,” सुवेदीले जानकारी दिए, “दिन-रात सिफ्ट मिलाएर काम भइरहेकाले अबको गति झनै तीव्र हुनेछ।”

प्रगतिको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले परियोजनामा आर्थिक संकट आउन नदिन संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित मन्त्रालयहरूसँग निरन्तर छलफल भइरहेको बताए।

उनका अनुसार सुरुवाती चरणमा आर्थिक भार बढी देखिए पनि समयसँगै व्यवस्थापन सहज हुँदै जाने अपेक्षा गरिएको छ। संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अस्पतालको कामलाई विशेष प्राथमिकता दिइरहेको र आवश्यक सहयोग हुने कुरामा विश्वास दिलाइएको बताइएको छ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले भवन समयमै तयार भएमा जनताले स्तरीय र पहुँचयोग्य सेवा पाउने बताएका छन्। उनले भने, “अस्पतालको स्तरोन्नति भएपछि लुम्बिनी क्षेत्रमा नै स्वास्थ्य सेवामा कायापलट हुनेछ। यसलाई सफल बनाउन सबै बुटवलवासीको दायित्व हो।”

उनले भवनसँगै प्रयोग हुने उपकरण, आवश्यक जनशक्ति तथा आन्तरिक व्यवस्थापनको तयारीमा प्रदेश सरकारले हालैदेखि नै ध्यान दिनुपर्नेमा पनि जोड दिए।

भवन निर्माणका लागि भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन तथा रेलिगेरको संयुक्त संस्थासँग सम्झौता गरिएको हो। २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि काम सुरु भएको थियो।

प्राधिकरणका अनुसार कुल ८ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ बराबरको लागत अनुमान गरिएको छ। जसमा दुईवटा भवन, अत्याधुनिक उपकरण तथा आन्तरिक व्यवस्थापनसमेत समावेश छन्। निर्माण कार्यको मूल लागत ६ अर्ब १८ करोड रुपैयाँ रहेको छ। यो सम्पूर्ण काम २०८५ पुस २५ भित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो।

नयाँ भवन १२ तले हुनेछ। तल्लो दुई तलामा पार्किङ, अगाडि भागमा ओपिडी, इमर्जेन्सी र इन्डोर सेवा रहनेछन्। माथिल्लो तलाहरूमा १,२०० शैय्याका बेडसहित विभिन्न विशेषज्ञ सेवा रहने व्यवस्था गरिएको छ।

विशेषगरी ग्यास्ट्रोएन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजी लगायतका सेवा एउटै भवनबाट एकीकृत रूपमा सञ्चालन हुनेछन्। निर्माण कार्य अन्तर्राष्ट्रिय मापदण्डअनुसार भइरहेको छ। काठमाडौँ विश्वविद्यालय अन्तर्गतको युनिक सल्ट सेन्टरमार्फत सुपरिवेक्षण भइरहेको छ, जसमा १६ सदस्यीय प्राविधिक टोली संलग्न छ।

हाल लुम्बिनी प्रादेशिक अस्पतालमा १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, सर्जरी, प्लास्टिक सर्जरी, अर्थोपेडिक्सलगायतका सेवा नियमित रूपमा प्रदान गरिँदै आएका छन्।

त्यस्तै, प्याथोलोजी, एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, इकोकार्डियोग्रामजस्ता परीक्षण सेवाहरू पनि अस्पतालमै उपलब्ध छन्। हाल ७४ जना विशेषज्ञ चिकित्सकसहित सयौं स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्।

You may also like