काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्न बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको अनुरोधपछि विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित हुन रोकिएको हो ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सोमबार उक्त विधेयक पारित गर्ने तयारी गरेको भए पनि शिक्षामन्त्री पन्त र काँग्रेस प्रमुख सचेतक घिमिरेको अनुरोधपछि पारित हुनबाट रोकिएको हो । अब कहिले बैठक बसेर पारित गर्ने तय भएको छैन ।
मन्त्रीको प्रस्तावप्रति समिति सदस्यहरुले चर्को असन्तुष्टि जनाए पनि अन्तिममा समिति सभापति अम्मरबहादुर थापाले ‘अर्को बैठकबारे पछि सूचना गर्ने गरी’ आजको बैठक स्थगित भएको घोषणा गरे । बैठकमा मन्त्री पन्तले सरकारले अगाडि बढाउन नचाहेको विधेयक समितिले पारित गरेर पठाउन नसक्ने चेतावनी दिएका थिए ।
विद्यालयसम्बन्धी विधेयक पारित गर्न शिक्षक महासंले असार १५ गतेसम्मको समय दिएको थियो । त्यही अनुसार महासंघका नेताहरुले सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतकसँग सहमति गरेका थिए । उक्त सम्झौता अनुसार जानुपर्ने भन्दै विधेयक होल्ड गर्ने मन्त्रीको प्रस्तावप्रति सांसदहरुले असन्तुष्टि जनाएका थिए । उनीहरुले आजै विधेयक पारित गर्नुपर्ने अडान लिएका थिए ।