बुटवल। रक्तदान अभियन्ता कृष्ण चौहानले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवामा समर्पित भई विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।
सोमबार आयोजित कार्यक्रममा उनले रक्तसंचारमा ४७ पिन्ट रगत संकलन भएको भने मानव सेवा आश्रममा करिब १३ हजार रुपैयाँ बराबरको सामग्री सहयोग पनि प्रदान गरेका छन्।
कृष्ण चौहानले जन्मदिनलाई परम्परागत रुपमा भव्य पार्टी वा उत्सवको रूपमा नभई जनताको हित र सामाजिक उत्तरदायित्वको भावनासहित मनाउनुपर्छ भन्ने विश्वास व्यक्त गरे। उनको यो कदमले स्थानीय समुदायमा सामाजिक सेवा र रक्तदानको महत्व अझ प्रगाढ रूपमा फैलिने अपेक्षा गरे ।
चौहान लामो समयदेखि निरन्तर रक्तदान र सामाजिक कार्यहरूमा सक्रिय छन्। उनले आफ्नो व्यक्तिगत जीवनसँगै सामाजिक सेवा पनि जोडिएको बताउँदै यस किसिमको पहलले अरूलाई पनि प्रेरणा दिनेमा विश्वस्त छन्। “जन्मदिन वा अन्य विशेष अवसरहरूमा आफू मात्र होइन, अरूको जीवनमा पनि केही सकारात्मक योगदान पुर्याउने मौका हो,” उनले भने।
सो अवसरमा रक्तदान कार्यक्रमको व्यवस्थापन गरेको ब्लड बैंकका प्रतिनिधिहरूले कृष्ण चौहानको यो कदमलाई प्रशंसा गर्दै यसले रक्तदान प्रवृत्ति बढाउन मद्दत पुग्ने बताए। मानव सेवा आश्रमका पदाधिकारीहरूले पनि उनको सहयोगलाई उच्च मूल्यांकन गर्दै यसले आश्रममा रहेका विपन्नहरूको जीवन सुधार्न सहयोग पुगेको बताउँदै धन्यवाद व्यक्त गरे।
कृष्ण चौहानले भने, “म आफ्नो जन्मदिनलाई सामाजिक सेवाको माध्यमबाट मनाउन पाउँदा खुशी छु। आशा छ, मेरा यी सानातिना प्रयासहरूले अरूलाई पनि सामाजिक कार्यमा संलग्न हुन प्रेरित गर्नेछ।”