बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ। सोमबार विद्यालय परिसरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा जीपीए ४ ल्याउने ११ जना विद्यार्थीसहित सफल अभिभावकलाई विशेष सम्मान गरिएको हो।
कार्यक्रम विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता र व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा बोल्दै प्राचार्य उपाध्यायले विद्यालय सधैँ गुणस्तरीय शिक्षामा समर्पित रहेको उल्लेख गर्दै यसपटकको एसईई नतिजा न्यू होराइजनको इतिहासमै सर्वोत्कृष्ट भएको बताए। बुटवल क्षेत्रका संस्थागत विद्यालयमध्ये न्यू होराइजन पहिलो स्थानमा रहेको दाबी गर्दै उनले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासले सम्भव भएको बताए।
विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजुले सफल विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।
जीपीए ४ प्राप्त गर्ने विद्यार्थी बेदान्त गौतमले न्यू होराइजनको शैक्षिक वातावरण अत्यन्तै सहयोगी र प्रेरणादायक रहेको बताए। उनले आगामी शैक्षिक यात्रा पनि यही विद्यालयबाट अघि बढाउने योजना बनाएको उल्लेख गरे।
कार्यक्रममा उप–प्राचार्य बासुदेव अर्याल, अभिभावक गंगाराम भट्टराई र सुमित्रा शर्माले न्यू होराइजन विद्यालयको नियमित उत्कृष्ट नतिजा, अनुशासन र अनुभवी शिक्षकहरूकै कारण बुटवल क्षेत्र मात्र नभई बाहिरी स्थानका विद्यार्थी र अभिभावकहरूको रोजाइमा पर्ने गरेको बताए।
उनीहरूले एसईईपछि विद्यार्थीको रुचि र क्षमताअनुसार विषय छनोट गरेमा मात्र दीर्घकालीन सफलता मिल्ने उल्लेख गर्दै विद्यालय परिवारलाई उत्कृष्ट नतिजाका लागि धन्यवाद पनि व्यक्त गरे।
नतिजा विवरण
विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार:
जीपीए ४.०० : ११ जना
ए+ (A Plus) : १२५ जना
ए (A) : ९९ जना
बी+ (B Plus) : ५९ जना
बी (B) : ६ जना
विद्यालयका अनुसार कक्षा ११–१२ मा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार, दक्ष र पूर्णकालीन शिक्षक र आधुनिक शिक्षण विधिसहितको वातावरण उपलब्ध गराइएको छ।
कार्यक्रममा उपप्राचार्य बालकृष्ण भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश गौतमले गरेका थिए।