दीप बोर्डिङ बुटवलमा एसईई उत्कृष्टता: जीपीए ४ ल्याउने २ सहित दर्जनौँ विद्यार्थी सम्मानित

by समतल अनलाइन
Shares

बुटवल। बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी र अभिभावकलाई विशेष कार्यक्रमकाबीच सम्मान गरेको छ।

विद्यालय प्रांगणमा सोमबार आयोजित कार्यक्रममा जीपीए ४ ल्याएका विद्यार्थीहरूलाई जनही २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। साथै, जीपीए ३.९५ भन्दा बढी ल्याउने विद्यार्थीलाई जनही ५० हजार र ३.९० भन्दा बढी ल्याउनेलाई २५ हजार रुपैयाँ प्रदान गरिने प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए। यी पुरस्कारहरू विद्यालयको ४५औं वार्षिकोत्सवका अवसरमा वितरण गरिनेछ।

प्राचार्य न्यौपानेले दीप बोर्डिङले ४५ वर्षको शैक्षिक यात्रामा विभिन्न चुनौतीका बाबजुद हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको उल्लेख गर्दै भने, “विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक प्रयासले विद्यालयले सधैँ उत्कृष्टता हासिल गर्दै आएको छ।”

विद्यालयले कक्षा ११ मा भर्ना हुने सबै विद्यार्थीलाई निःशुल्क भर्ना र ५० प्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरेको छ। जीपीएका आधारमा १०० प्रतिशतसम्म छात्रवृत्ति पनि प्रदान गरिने जनाइएको छ।

होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूका लागि दीप बोर्डिङले होटल टाइगर प्यालेससँगको सहकार्यमा इन्टर्नसिपको व्यवस्था समेत मिलाउने जनाएको छ। विद्यालयले उत्पादन गरेका सयौँ विद्यार्थी हाल डाक्टर, इञ्जिनियर र व्यवस्थापन क्षेत्रमा उच्च स्थानमा रहेको विद्यालय प्रशासनको भनाइ छ।

कार्यक्रममा बोल्दै सोल्टी होटलका निर्देशक डा. रुपेश श्रेष्ठले एसईईपछि विद्यार्थीहरूको करियर निर्माण सुरु हुने भन्दै रुचिअनुसार विषय छनोट गर्न सुझाव दिए। उनले भने, “अभिभावकको इच्छाले भन्दा पनि बालबालिकाको रुचिअनुसार विषय छनोट गरे मात्रै सफल भविश्य सम्भव हुन्छ।”

विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाईंले विद्यार्थी र शिक्षकको लगनशीलता र मिहिनेतले विद्यालयले सफलता हासिल गर्न सकेको बताए। साथै, घरमै पनि अध्ययनको वातावरण निर्माण गर्न अभिभावकहरूलाई आग्रह गरे।
कार्यक्रममा जीपीए ४ ल्याउने विद्यार्थी सक्रिना कुँवरले दीप बोर्डिङको शैक्षिक वातावरण उत्कृष्ट भएको बताउँदै आगामी शैक्षिक यात्रा पनि यहीँबाट अघि बढाउने योजना सुनाइन्। साथै, कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू — संयोग नेपाल, केबल राना, संयागराज भण्डारी, मन्जीला ज्ञवाली, पुस्कर न्यौपाने लगायतले विद्यालयले पारिवारिक वातावरणमा संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको धारणा व्यक्त गरे।

सह–प्राचार्य कलाधर अर्यालका अनुसार एसईईमा दीप बोर्डिङबाट प्राप्त नतिजा जीपीए ४.००: २ जना,जीपीए ३.६०–४.००: ५५ जना ,जीपीए ३.२०–३.६०: ५० जना र जीपीए २.७७–३.२०: २३ जना रहेका छन्।

यस अवसरमा कक्षा १० मा अध्यापन गर्ने शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। साथै, होटल म्यानेजमेन्ट अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि विशेष अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको उपप्राचार्य सुरेन्द्रप्रसाद शाक्यले जानकारी दिए।
कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेले गरेका थिए।

You may also like