रोटरी क्लब तिलोत्तमाको नेतृत्व भट्टराईलाई, नयाँ कार्यसमितिले गर्‍यो पदभार ग्रहण

by समतल अनलाइन
Shares

बुटवल।रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको नयाँ कार्यसमितिले आइतबार साँझ बुटवलमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेको छ। क्लबको अध्यक्षमा दीपक भट्टराईको सर्वसम्मत नेतृत्व चयनसँगै रोटरी वर्ष २०२५/२६ का लागि नयाँ कार्यसमितिले औपचारिक जिम्मेवारी पाएको हो।

समारोहमा रोटरी डिष्ट्रिक्टकी एसाइन एजी कमला हमालले अध्यक्ष भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराइन्। अध्यक्ष भट्टराईले त्यसपछि अन्य पदाधिकारी र सदस्यहरूलाई शपथ गराएका थिए।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको समुन्नत विकासका लागि निजी क्षेत्र, सामाजिक संघसंस्था र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै रोटरी क्लबसँग हातेमालो गर्दै अगाडि बढ्न चाहेको धारणा राखे।

रोटरी डिष्ट्रिक्ट एसिस्टेन्ट गभर्नर कमला हमालले क्लबले विगतमा गरेका प्रभावकारी कार्यहरूबारे जानकारी राखेको बताउँदै आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यक्रमहरूको अपेक्षा रहेको जनाइन्। अर्का एसिस्टेन्ट गभर्नर सुमन गोपालाचार्यले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

उक्त अवसरमा क्लबका तत्कालीन अध्यक्ष देवीराम पाण्डेले विगत वर्षभरी सञ्चालित कार्यक्रमहरूको समीक्षा प्रस्तुत गर्दै अधुरा कामलाई नयाँ कार्यसमितिले निरन्तरता दिने विश्वास व्यक्त गरे। साथै, आफू पनि आगामी कार्यकालमा नयाँ नेतृत्वसँग मिलेर काम गर्न तत्पर रहेको प्रतिबद्धता जनाए।

नवनिर्वाचित अध्यक्ष दीपक भट्टराईले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै विगतका राम्रा अभ्यासलाई निरन्तरता दिने र नयाँ रचनात्मक अभियानहरू सञ्चालन गर्ने अठोट व्यक्त गरे। उनले क्लबका सम्पूर्ण सदस्यहरू, साझेदार संस्था र समुदायसँग सहयोगको अपिलसमेत गरे।

समारोहमा छिमेकी क्लबका प्रतिनिधिहरूले पनि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए। कार्यक्रमको संचालन निवर्तमान सचिव अर्जुन आचार्य र नवनिर्वाचित सचिव किशोर विकले संयुक्त रूपमा गरेका थिए भने उपाध्यक्ष देवीलाल भट्टराईले अतिथिहरूलाई स्वागत गरेका थिए।

कार्यक्रमको अन्त्यतिर वर्षभर क्लबलाई साथ दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो, जसले क्लबको सामुदायिक सेवा कार्यमा थप प्रेरणा जगाउने अपेक्षा गरिएको छ।

You may also like