चार जिपिए ल्याएका तीन छात्रालाई ५१–५१ हजारसहित नगर परिक्रमा गर्दै नयाँगाउँ माविद्वारा सम्मान

by समतल अनलाइन
Shares

बुटवल । बुटवल–१२ मा अवस्थित नयाँगाउँ माध्यमिक विद्यालयले एसईई २०८१ मा चार जीपीए ल्याएका तीन छात्रालाई जनही ५१ हजार रुपैयाँसहित नगर परिक्रमा गराउँदै विशेष सम्मान गरेको छ। आइतबार आयोजित कार्यक्रममा छात्रा सम्झना घिमिरे, समीपा अधिकारी र रविना अधिकारीलाई अविरमाला लगाई विद्यालय परिसरदेखि नयाँगाउँ, बेल्बास हुँदै ढवाह क्षेत्रसम्म परिक्रमा गराइएको थियो।

विद्यार्थीको यो उपलब्धिलाई विद्यालय, शिक्षक, अभिभावक र समुदायले सामूहिक उत्सवका रूपमा मनाएका थिए। प्रधानाध्यापक पुरुषोत्तम भट्टराईका अनुसार परिक्रमा कार्यक्रमको माध्यमबाट विद्यालयले सफलताको खुसी साझा गर्नुका साथै स्थानीय स्तरमा शिक्षा प्रतिको विश्वास थप बलियो बनाउने प्रयास गरेको हो। उनले नयाँगाउँ क्षेत्र शिक्षाको ‘हव’ बन्दै गएको उल्लेख गर्दै पछिल्ला तीन वर्षयता विद्यालयका विद्यार्थीले लगातार रूपमा चार जीपीए ल्याउँदै आएको जानकारी दिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरुषोत्तम बस्याल, सल्लाहकार डीआर घिमिरे लगायतले गुणस्तरीय शिक्षाको महत्वमाथि जोड दिएका थिए। उनीहरूका अनुसार निजी क्षेत्रको भर परिरहेको अवस्थामा सामुदायिक विद्यालयले देखाएको सफलता प्रेरणादायी छ।

सहायक प्रधानाध्यापक विष्णुप्रसाद काफ्लेले पछिल्लो समय विद्यालयमा गुणस्तरीय शिक्षातर्फ ध्यान दिइएको र यसकै परिणामस्वरूप नयाँगाउँ क्षेत्रका धेरै अभिभावकले आफ्ना छोराछोरीलाई यहीँ भर्ना गराउन थालेको बताए। शिक्षक रामप्रसाद बन्जाडेका अनुसार नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा हाल १,५०० विद्यार्थी अध्ययनरत छन्। यस वर्ष १५८ विद्यार्थीले एसईई परीक्षा दिएका थिए।

नयाँगाउँ माध्यमिक विद्यालयको यो सफलताले बुटवल पश्चिम क्षेत्रमा सामुदायिक विद्यालयप्रतिको धारणा बदलिँदै गएको स्पष्ट संकेत दिएको छ। विद्यालयले शिक्षामा गरेको लगानी र सुधारले परिणाममा देखिएको स्थायित्वले अबको दिनमा अन्य विद्यालयलाई पनि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

You may also like