गुल्मीको धुर्कोट–१ नयाँगाउँ पहिलोपटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित

by समतल अनलाइन
Shares

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँले जिल्लामै पहिलोपटक बालमैत्री स्थानीय शासनयुक्त वडा बन्ने गौरव हासिल गरेको छ। असार १५ गते एक विशेष समारोहका बीच औपचारिक रूपमा वडालाई बालमैत्री वडा घोषणा गरियो, जुन घोषणाले समग्र पालिका र जिल्लाको सामाजिक विकास यात्रामा नयाँ इतिहास कोरेको छ।

घोषणाको औपचारिकता जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले पुरा गरे। कार्यक्रममा बोल्दै प्रमुख खत्रीले पूर्वाधार विकास मात्रै पर्याप्त नभई शिक्षा, स्वास्थ्यजस्ता सामाजिक पक्षमा सशक्त ध्यान दिनुपर्ने धारणा राखे। बालबालिकालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र पूर्वाधार निर्माण गर्नु नै दीगो विकासको आधार हुने उहाँको भनाइ थियो।

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बालमैत्री शासन कार्यान्वयन गर्नु आफैंमा चुनौतीपूर्ण भए पनि पालिकाले यो अभियानमा निरन्तर साथ दिने प्रतिबद्धता जनाए। बालमैत्री घोषणा उपलक्ष्यमा वडा कार्यालयलाई गाउँपालिकातर्फबाट एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। अध्यक्ष पोख्रेलले हाल शिक्षा क्षेत्रमा प्रदेश तथा संघ सरकारको लगानी अपेक्षाकृत कम रहेको भन्दै त्यसमा गम्भीर पुनर्विचार आवश्यक रहेको बताए।

यस घोषणासम्म पुग्न वडाले कुल ५१ वटा सूचकहरू पुरा गर्नुपर्ने बाध्यता रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी गराए। ती सूचकहरू शिक्षा, स्वास्थ्य, सुरक्षा, बाल संरक्षण, सहभागिता, वातावरण तथा पूर्वाधारका विभिन्न पक्षहरूसँग जोडिएका थिए। वडाले ती सबै मापदण्ड पुरा गरेर मात्र बालमैत्रीको मान्यता पाएको हो।

उक्त समारोहमा उपाध्यक्ष सिता गिरी, शिक्षा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, प्रमुख प्रशासकीय अधिकृत पन्थीसहितका वक्ताहरूले वडाको यो उपलब्धि स्थानीय सरकारहरूको लागि प्रेरणादायी रहेको उल्लेख गरे।

वडाध्यक्ष चेतमान कुँवरले यो उपलब्धिलाई सम्पूर्ण वडाबासी र पालिकावासीको सामूहिक सफलता भने। “हामीले ९३ वटा वडामध्ये पहिलोपटक धुर्कोट १ लाई बालमैत्री वडा बनाउने सपना साकार पार्यौं,” कुँवरले भने, “यो हाम्रो साझा मेहनत र संकल्पको परिणाम हो।”

घोषणा समारोह सांस्कृतिक र जनउत्तरदायी सहभागितामूलक कार्यक्रमले भरिपूर्ण थियो। स्थानीय विद्यालयका विद्यार्थीहरूले बाल अधिकार र शिक्षा विषयक गीत, नाटक र नृत्यमार्फत कार्यक्रमलाई अझै आकर्षक बनाए। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यालय प्रमुख, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र संघसंस्थाका प्रतिनिधिहरूलाई समेत सम्मान गरियो।

राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति पनि कार्यक्रमको विशेषता रह्यो। उनीहरूले यस्तो पहलले समाजमा सकारात्मक असर पार्ने विश्वास व्यक्त गरे। बाल अधिकार, सुरक्षामैत्री पूर्वाधार र बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्ने कार्यमा अब वडाले अझै ध्यान दिनुपर्ने सुझावहरू पनि आए।

बालमैत्री शासन घोषणा केवल एउटा पदक हैन, यो दीर्घकालीन प्रतिबद्धता र कार्यसञ्चालनको प्रारम्भिक चरण हो। त्यसैले स्थानीय निकाय, पालिका, प्रदेश र संघ सरकारबीच समन्वयात्मक सहयोग अझै आवश्यक हुनेछ। बाल संरक्षण र सशक्तिकरणका सवालमा अब वडाले थप उदाहरणीय काम गर्नुपर्ने अपेक्षा पनि स्थानिय बासिन्दाहरूले गरेका छन्।

यसैगरी स्थानीय समाजमा बालमैत्री अवधारणालाई आत्मसात गर्न निरन्तर सचेतना, अनुगमन र सुधारका प्रयास आवश्यक छन्। यो घोषणा एउटा सुरुवात हो, जुन यात्रामा बालबालिकाको सुरक्षित, सम्मानित र समुन्नत भविष्य सुनिश्चित गर्न सकिनेछ।

गुल्मीको धुर्कोट–१ नयाँगाउँले देखाएको यो बाटो अन्य वडाहरूका लागि अनुकरणीय बन्न सक्नेछ, यदि यस्तै प्रतिबद्धता, तयारी र समर्पण अन्यत्र पनि दोहोरिन्छ भने। बालमैत्री शासनको यात्रामा अब धुर्कोटले पहिचान मात्रै बनाएन, प्रेरणा पनि बन्यो।

You may also like