गुल्मी।अबिरल वर्षापछि खसेको पहिरोले गुल्मीको प्रमुख यातायात मार्ग रिडी–वामीटक्सार सडक पूर्णरूपमा अवरुद्ध भएको छ। चन्द्रकोट गाउँपालिका–८ र मुसिकोट नगरपालिका–५ को सिमाना नजिकै तल्लो फाँटमा आइतबार बिहान पहिरो खसेपछि सडक यातायात ठप्प बनेको हो।

सडक अबरुद्ध भएपछि वामीटक्सारबाट रिडी हुँदै पाल्पा र बुटवलतर्फ जाने तथा आउने सवारी साधनहरु बाटोमै रोकिएका छन्। अत्यधिक चाप हुने यस सडक खण्ड अबरुद्ध हुँदा यात्रुहरु बिचल्लीमा परेका छन् भने स्थानीय दैनिक जीवन प्रभावित बनेको छ।
सडक खुलाउन स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक शिवधनप्रसाद कठरियाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिएका छन्। उनका अनुसार पहिरो पन्छ्याउने कार्य जारी छ, तर अविरल वर्षाका कारण प्रयासमा कठिनाइ भइरहेको छ।
रिडी–वामीटक्सार सडक गुल्मी जिल्लाको सर्वाधिक सवारी चाप हुने मार्ग हो। यसबाटै पाल्पा, बुटवलसहित तराईका विभिन्न स्थान जाने मुख्य यातायात सञ्चालन हुँदै आएको छ। त्यसैले यस सडक खण्डको अबरुद्धताले जिल्ला र क्षेत्रीय स्तरमै प्रभाव पारेको छ।
स्थानीय प्रशासनले यात्रुहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ भने मौसम सुधार भएलगत्तै पहिरो हटाइ सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।