बुटवल । २२औं राष्ट्रिय धान दिवसको अवसरमा रुपन्देही व्यापार संघअन्तर्गतको कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमितिले आइतबार बुटवलमा अग्रज सम्मान तथा दही-चिउरा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा अग्रज व्यवसायीहरूलाई विशेष सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्नेमा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, पूर्व अध्यक्ष शंकर भट्टराई, मोतिलाल पाण्डे, यमलाल लोहनी, पदम श्रेष्ठ, कृष्णप्रसाद घिमिरे, संस्थापक महासचिव गोपाल अधिकारी र संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल रहेका थिए ।
अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै संघका संस्थापक अध्यक्ष ज्ञवालीले विगतमा जटिल परिस्थितिका बीच स्थापना भएको व्यापार संघले आज व्यवसायीक जग सुदृढ बनाएको बताए । उनले व्यवसायीक एकता र सहकार्यलाई मजबुत बनाएर मात्र आर्थिक समृद्धिको यात्रा सम्भव हुनेमा जोड दिए । “संघमा धेरैको पसिना बगिसकेको छ, अब त्यसलाई थप व्यवस्थित गर्दै नयाँ पुस्तालाई अगाडि बढाउने जिम्मेवारी सबैको हो,” उनले भने ।
कार्यक्रममा उपसमितिका संयोजक सरोज ज्ञवालीको अध्यक्षता रहेको थियो भने सह–सचिव कल्पना शर्माले सञ्चालन गरेकी थिइन् । संस्थापक महासचिव गोपाल ज्ञवाली, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उपसमितिका सल्लाहकार मनिमदिन मियाँ लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए ।
धान दिवसकै अवसरमा दही–चिउरा खाँदै व्यवसायीबीच आपसी सम्बन्ध र सञ्जाल सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उपसमितिले जनाएको छ ।