तिलोत्तमा । तिलोत्तमा नगरपालिका–५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाले सडक, पार्क, सार्वजनिक जग्गाको संरक्षण, सिचाइ, नाली, डुवान समस्या, सडकबत्ती, आकाशे पुल लगायत विषयमा गम्भीर चासो राख्दै जनप्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा प्रश्न गरेका थिए।

वडाका जनप्रतिनिधिहरूले ती प्रश्नहरूको जवाफ दिँदै वडाले हालसम्म गरेका कार्य, भावी योजना र प्राप्त उपलब्धिहरूबारे जानकारी गराए। कार्यक्रमकै क्रममा वडा अध्यक्ष रमेश डुम्रेले भने, “हामीले वडावासीका आवश्यकता, सल्लाह र गुनासालाई प्राथमिकतामा राखेर योजना बनाउनेछौं। सार्वजनिक सुनुवाइमार्फत जनताको प्रत्यक्ष सरोकारका विषय थाहा हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन जरुरी छ। हाम्रा अबका योजना जनप्रतिनिधि मात्र होइन, जनताको पनि साझा योजना हुनेछन्।”
यसैगरी कार्यक्रमको स्वागत मन्तव्य दिँदै वडा सदस्य हरि पन्थले भने, “जनतासँग प्रत्यक्ष छलफल हुने यस्ता कार्यक्रमले योजना निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता ल्याउँछ। वडाका सबै जनप्रतिनिधि मिलेर जनअपेक्षा अनुसार काम गर्न प्रतिबद्ध छौं। आजको सहभागिता र चासोले देखाउँछ, जनता जागरूक बन्दैछन्।”
कार्यक्रममा निवर्तमान वडाध्यक्ष चेतनारायण भण्डारीले योजना तथा बजेट बनाउँदा समावेशी दृष्टिकोण अपनाउन सुझाव दिए। नेकपा एमाले वडा उपाध्यक्ष केशवराज कोईरालाले राम्रा कामको स्वागत र गलत कामको विरोध गर्ने जनभावनाको सम्मान गर्नुपर्ने बताए। उनले विकास निर्माणमा ६०–४० को लगानी सहभागिता हटाउनुपर्ने प्रस्ताव समेत राखे।
त्यसैगरी, नेपाली कांग्रेसका वडा उपसभापति मिनप्रसाद अधिकारीले जनचेतना बढ्दै गएको भन्दै जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिए। सहभागी स्थानीयहरूले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई वार्षिक रूपमा निरन्तरता दिनुपर्ने सुझाव पनि दिएका थिए।
कार्यक्रममा वडा नं. ५ का सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्थानीय महिला, युवा, सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम सिग्नल मिडिया नेटवर्क प्रा.लि. को समन्वयमा सम्पन्न भएको हो।