गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दिगामचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी भएका छन्।
बिरामी हुनेहरूमा ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन्। उनीहरूको अवस्था अहिले खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।
बिहीबार जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि उनीहरूलाई राति नै टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुने लक्षण देखा परेको थियो।
घटनाको जानकारी पाएपछि इन्द्रगौडा प्रहरी चौकीबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरीले राति नै तीनै जनालाई पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका लागि पठाएको थियो।
प्रहरीका अनुसार उनीहरूको समयमै उपचार भएकोले अहिले अवस्था सामान्य रहेको छ। यस्तै घटना दोहोरिन नदिन स्थानीयलाई वनजङ्गलबाट च्याउ टिप्दा सावधानी अपनाउन आग्रह गरिएको छ।