तिनाउ गाउँपालिका–५ मा बालश्रम अन्त्यका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल। पाल्पाको तिनाउ गाउँपालिकालाई बालश्रममुक्त बनाउने लक्ष्यअन्तर्गत तिनाउ–५ मा अभिमुखीकरण तथा मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार तिनाउ गाउँपालिकाको आयोजना तथा नमस्ते लुम्बिनी मिडिया प्रालिको सहकार्यमा सरोकारवालाहरुको सहभागितामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा तिनाउ गाउँपालिका–५ का वडाध्यक्ष इन्द्रकुमारी चिदीले बालश्रमको अन्त्य गर्न सबै क्षेत्रका व्यक्तिहरु, समाज र परिवारले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताइन् । बालश्रम अन्त्यका लागि वडा र गाउँपालिकाको प्रयासले मात्रै पूरा नहुने र सबै सरोकारवालाहरुको सहयोग आवश्वयक रहेकोले सरोकारवालाहरुसँग अभिमुखिकरण कार्यक्रम गरिएको उनले बताइन् । बालश्रम मुक्त पालिका बनाउनका लागि यसक्षेत्रका विभिन्न उद्योग, होटल तथा अन्य व्यवसाय तथा यातायात क्षेत्रमा अनुगमन गरि बालबालिकालाई काममा लगाएको भेटिए तत्काल उद्दारका लागि आवश्यक समन्वय गर्दै आएको उनले बताइन् ।

कार्यक्रमका प्रशिक्षक बुटवल उपमहानगरपालिकाका उपनिर्देशक दामोदर ज्ञवालीले बालश्रमसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । बालश्रम र बालकार्यबारे जानकारी गराउँदै उनले बालश्रममा लगाउनेलाई कानुनबमोजिम दण्ड र सजायको दायरामा ल्याउनुपर्ने बताए । बालबालिकालाई उमेरअनुसार उनको वृद्धि र विकासमा नकारात्मक असर नपार्ने गरी बालकार्यमा लगाउन सकिने उनले बताए । यस्ता बालकार्यले बालबालिकालाई सामाजिकीकरण र जीवन जिउने सीपको विकास गर्ने उनले जनाए । कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य गोपाल चौहान, कार्यपालिका सदस्य कुमारी सुनार, बालमैत्री वडा सहजकर्ता हिमाली चिदी लगायतले बोल्दै बालश्रम अन्त्यका लागि अब ढिलो गर्न नहुने बताए ।

कार्यक्रममा वडा भित्रका आमा समुहका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको थियो । सोही अबसरमा कार्यक्रममा सहभागिहरुले बालमैत्री उन्मुख पालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियानमा सामुहिक प्रतिबद्धता जनाउँदै हस्ताक्षरसमेत गरेका छन् । कार्यक्रम तिनाउ गाउँपालिका रोजगार शाखा संयोजक कृष्ण ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपालमा कानुनले बालबालिकाको उमेरका आधारमा स्वीकार्य र अस्वीकार्य कामहरू तोकेको छ । कानुनी प्रावधानअनुसार १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रममा लगाउनु दण्डनीय हो । १४ देखि १८ वर्षसम्मका बालबालिकालाई सामान्य काममा लगाउन सकिन्छ तर बालश्रम (नियमित र निषेधित गर्ने) ऐन २०५६ ले ११ प्रकारका कामलाई जोखिमपूर्ण व्यवसाय वा कामहरू भनी उल्लेख कार्यमा बालबालिकालाई सम्लग्न गराउन सकिँदैन । जसमा बाल भरिया, सडक बालबालिका, बालबालिकाको बेचबिखन, बालविधुवा बालश्रम, घरेलु बालश्रमिक, इँटा कारखानामा काम गर्ने बालश्रमिक र कोइला तथा अन्य खानीमा काम गर्ने बालश्रमिक पर्दछन् । १८ वर्षमुनिका बालबालिकालाई जोखिमयुक्त मानिएको कुनै पनि काममा लगाउनु गैरकानुनी मानिन्छ ।
Chandi
Chandi Bashyal

You may also like