काठमाडौं । विष्णुमति खोलाले बगाएको कारमा सवार एक जना महिलाको उद्धार गरिएको छ । गए राति १०ः१० बजे काठमाडौंको टोखा नगरपालिका–६ ग्रान्डी अस्पताल पछाडि विष्णुमति खोलामा खसेको कार खसेको थियो ।

खोला किनारको सडकमा गुडिरहेको बा.प्र.०१–०३१ च ६१४१ नम्बरको कार सडकबाट खोलामा खस्न लागेपछि चालक कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–१ घर भइ हाल काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंह किनारमा हामफालेका थिए ।

कारभित्र दाङ तुलसीपुर घर भइ हाल टोखा बस्ने ३४ वर्षीया भावना ओली सवार थिइन् । गए रातिको वर्षाका कारण विष्णुमति खोलाको बहाब बढेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएका थिए । खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको थियो ।
त्यहाँबाट कारभित्र सवार महिलालाई उद्धार गरी उपचारका लागि ग्रीन सिटी अस्पताल पठाइएको एसपी बोहराले जानकारी दिएका छन् । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । खोलामा खसेको कार राति नै क्रेनको सहायताले निकालिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार एउटा गाडीलाई साइड दिने क्रममा माटो भासिएर कार खोलामा खसेको थियो । विष्णुमतिमा उक्त कार करिब डेढ किलोमिटर बगाएको थियो ।