माधव नेपाल धरौटीमा रिहा

by समतल अनलाइन
Shares

काठमाडौं । विशेष अदालतले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छोड्ने आदेश गरेको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बुधबार बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने आदेश आएको हो।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो । बहसमा अख्तियारका तर्फबाट निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, विशेष सरकारी वकिलको कार्यालय प्रमुख मोहन सागर बस्याल, भगवनी देवी गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।

अध्यक्ष नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठले बहस गरे। बहसमा थापासहितले माधव नेपालले भ्रष्टाचार नगरेको र मन्त्रिपरिषद्को निर्णय भएकोले उनलाई आरोपित भन्नु गलत हुने बताएका थिए । आज जवाफ बहस भने भएन ।

जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जारी बहसका लागि नेपालका पक्षबाट ५० जनाले वकालतनामा लेखाए पनि केहीले मात्रै बहस गरेका थिए । अख्तियारको तर्फबाट ५ जनाले बहस गरेका थिए ।

०६९ सालमै अख्तियारले ५ वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको हो ।

पतञ्जलीको नेपाल प्रमुख शालिग्राम सिंह, केही जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियो । अख्तियारले बुधबार नै पूर्व प्रधानमन्त्री नेपालसँग बयान पनि लिएको थियो। बयान दिन नेपाल अख्तियारमै पुगेका थिए ।

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती र गाई फार्म चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो।

सोही स्वीकृतिबमोजिम बनेपा नगरपालिकाको साँगा, नासिकास्थान र चलाल गणेशस्थान (महेन्द्र ज्योति) क्षेत्रमा पतञ्जलीले ५९३ रोपनीभन्दा केही बढी जग्गा खरिद गरेको पाइएको छ । उद्योग र शैक्षिक प्रतिष्ठान स्थापनाका लागि किनिएको उक्त जग्गा चैत ६ र २६ गते बेच्न स्वीकृति दिइएको छ, जुन भूमिसम्बन्धी विद्यमान कानुन प्रतिकूल छ । हदबन्दी छुटमा किनिएको जग्गामध्ये ३५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको भेटिएको छ । पतञ्जलीका लागि धुलिखेलमा ८८ रोपनी जग्गा किनेको फेला परेको छ ।

You may also like