गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको ५५ करोड ६६ लाख बराबरको बजेट सार्वजनिक

समृद्ध र सुशासनयुक्त गाउँ निर्माणमा केन्द्रित

by समतल अनलाइन
Shares

गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड ६६ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष मिना देवी गौतमले बजेट प्रस्तुत गर्दै स्थानीय विकास, जनसेवा र समृद्धि अभियानमा केन्द्रित कार्यक्रमहरूको घोषणा गर्नुभएको हो।

बजेट संरचनामा ३६ करोड ९५ लाख ६९ हजार रुपैयाँ चालू खर्चतर्फ र १८ करोड ७० लाख ५० हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। गाउँपालिकाले प्राथमिकता दिइएका क्षेत्रहरूमा कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास उल्लेखनीय छन्।

उपाध्यक्ष गौतमका अनुसार गाउँपालिकाले आगामी दुई वर्षभित्र सबै वस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्यसहित दिगो भौतिक पूर्वाधार निर्माणमा जोड दिनेछ। त्यस्तै, ‘जनतासँग स्थानीय सरकार’ कार्यक्रम मार्फत नागरिक सहभागीता सुनिश्चित गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म जनताको आवाजलाई समेट्ने पहल गरिनेछ।

बजेटमा समावेश अन्य प्रमुख योजना तथा कार्यक्रमहरू यस्ता छन्:

अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गर्ने व्यवस्था,

कर्मचारी प्रोत्साहन कार्यक्रम विस्तार,

कृषि तथा पशुपालनमा आत्मनिर्भरता हासिल गर्न व्यावसायिक प्रविधि र सहुलियत पहुँच,

शिक्षा र स्वास्थ्यमा गुणस्तर सुधार गर्न आवश्यक स्रोत परिचालन।

गौतमले बजेट प्रस्तुत गर्दै भनिन्, “यस बजेटले गाउँपालिकाको उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै आम नागरिकको जीवनस्तरमा सुधार ल्याउनेछ। साथै, सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र गुणस्तर सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्नेछ।”

बजेटसँगै समावेश विकास कार्यक्रमले गाउँको समग्र रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। गाउँसभा अन्तर्गत बजेटमाथिको छलफल तथा सुझाव संकलनपछि कार्यक्रम कार्यान्वयनमा लैजाने तयारी रहेको पनि जनाइएको छ।

You may also like