गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५७ करोड २ लाख ६३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्दै व्यावहारिक, उद्देश्यपरक र जनमुखी नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष वेद बहादुर थापाको अध्यक्षतामा सम्पन्न १७ औं अधिवेशनमार्फत प्रस्तुत नीति तथा कार्यक्रमहरूमा गाउँसभा सदस्यहरूको सुझावलाई समेट्दै आवश्यक संशोधनसहित पारित गरिएको हो । कुल बजेटमध्ये ३८ करोड ३४ लाख २० हजार रुपैयाँ अर्थात् ६७.२३ प्रतिशत चालु खर्च र १८ करोड ६८ लाख ४३ हजार रुपैयाँ अर्थात् ३२.७७ प्रतिशत पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।

चालु खर्च सेवा प्रवाहको निरन्तरता र प्रशासनिक दक्षता अभिवृद्धिमा लक्षित गरिएको छ भने पूँजीगत खर्च ग्रामीण पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र खानेपानीका आयोजनामा केन्द्रित हुने जनाइएको छ । गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम रोजगारीमूलक र उद्यमशिलता आधारित, दिगो कृषि र पशुपालन प्रवर्द्धन, अधुरा योजनाको पूर्णता, सुरक्षित खानेपानी र सरसफाइ, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा र मुख्य सडक स्तरोन्नतिमा केन्द्रित रहेको छ ।
नीति तथा कार्यक्रम गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष रेशमराज न्यौपानेले प्रस्तुत गरेका थिए भने बजेट वक्तव्य उपाध्यक्ष मञ्जु कुमारी दर्लामीले सार्वजनिक गरेकी थिइन् । गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले अहिलेको बजेट दिगो रोजगारी र उद्यमशिलता प्रवर्द्धन अभियानमा केन्द्रित रहने उल्लेख गर्दै १७ औं अधिवेशन केवल बजेट पारित गर्ने औपचारिकता नभई जनप्रतिनिधिको सक्रियता, नागरिक समस्या प्रतिको संवेदनशीलता र योजनाको व्यावहारिक कार्यान्वयनमा केन्द्रित दृष्टिकोणसहित सम्पन्न भएको महत्वपूर्ण मोडको रूपमा चिनिएको बताए । उनले गाउँसभाको समापन गर्दै मिसन रोजगारीलाई अभियानका रूपमा अघि बढाइने प्रतिवद्धता जनाए ।