रेसुङ्गा नगरपालिकाको ६७ करोडको बजेट सार्वजनिक

by समतल अनलाइन
Shares

गुल्मी। रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड २१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगर प्रमुख खिलध्वज पन्थीले नगरसभामा उक्त बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सन्तुलन कायम गर्दै समृद्धिको यात्रालाई गति दिँदै आएको छ भने चालु बजेटले पनि यी प्राथमिकतालाई थप तीव्रता दिने संकेत गरेको छ ।

विगतमा गम्भीर आर्थिक संकटमा परेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई पुनःस्थापनाका लागि नगरपालिकाले पछिल्ला दुई वर्षमा १ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ । महालेखा परीक्षकको कार्यालयले यो रकम बेरुजु देखाए पनि शिक्षा जोगाउने उद्देश्यले नगरपालिकाले जोखिम मोलेको थियो भने अहिले क्याम्पसमा विद्यार्थी संख्या वृद्धि भएको र कक्षा नियमित सञ्चालनमा आएको छ । पछिल्ला तीन वर्षमा करिब ७० किलोमिटर सडक पिच गरी दुर्गम बस्तीहरूलाई सडक सञ्जालमा जोडिएको छ जसले स्थानीय आर्थिक र सामाजिक गतिविधिलाई थप सक्रिय बनाएको छ । सिमीचौरस्थित रेसुङ्गा विमानस्थल सञ्चालनमा आएपछि गुल्मी जिल्ला हवाई सञ्जालमा जोडिएको छ र यसले पर्यटन, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा सहजता ल्याएको छ ।

नगरपालिकाले गुल्मी अस्पतालमा विशेषज्ञ चिकित्सकहरूलाई टिकाइराख्न विशेष पहल गर्दै चिकित्सकहरूलाई अतिरिक्त तलब, सेवा सुविधा र आवश्यक सहयोग प्रदान गरेको छ जसले स्वास्थ्य सेवाको गुणस्तरमा सकारात्मक प्रभाव पारेको छ । एसईई परीक्षामा ४.०० जिपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय नगरपालिकाले गरेको छ जसले मेधावी विद्यार्थीलाई थप प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

You may also like

This will close in 0 seconds