बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
समानुपातिक प्रदेशसभा सदस्य रहेकी रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको आधारमा पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ । सुमन बर्दियाकी हुन् ।
जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँगको लेनदेनमा दिएको चेक बाउन्स भएपछि यो विषय प्रहरीमा पुगेको बताइएको छ ।
रायमाझी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी थिइन् । साथै उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषदमा कृषि मन्त्री भएकी थिइन् ।