बुटवल।बुटवल उपमहानगरपालिका–९ कालिकानगरस्थित आईसीआई पथमा शुक्रबार बिहान एक युवाको हत्या भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ घर भइ बुटवलमा बसोबास गर्दै आएका २९ वर्षीय ज्योति विकको हत्या भएको हो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अर्घाखाँचीको पाणीनी गाउँपालिका–२ स्थायी घर भइ हाल रुपन्देहीको सैनामैना नगरपालिका–६ मा बस्दै आएका ३२ वर्षीय बालकृष्ण न्यौपानेलाई पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र रानाका अनुसार शुक्रबार बिहान घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो। अनुसन्धानको क्रममा न्यौपानेलाई बुटवल–८ स्थित सुख्खानगर क्षेत्रबाट पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार न्यौपानेले ढुङ्गा प्रहार गरी विकको हत्या गरेको खुलेको छ।
दुवै जना सडक आश्रित जीवन बिताउँदै आएका थिए। प्रहरीको भनाइअनुसार, उनीहरूबीच सामान्य विवादबाट सुरु भएको झगडाले हिंसात्मक रूप लिँदै ज्यानसम्मको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।
हाल आरोपी न्यौपानेमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप तथ्य संकलनका लागि रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको छ।