काठमाडौँ । काठमाडौं उपत्यकाको निकै व्यस्त ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ शुक्रबारबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहका बीच ओभरपासको उद्घाटन गरेका हुन् ।
काठमाडौं उपत्यकाको चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ सरकारले ग्वार्कोचोकमा ओभरपास निर्माण गरेको हो । चक्रपथ विस्तार आयोजनाअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्म सवारी जाम हुने तीन स्थानमध्ये ग्वार्को चोक पहिलो स्थान हो, जहाँ ओभरपास बनाइएको हो ।
ग्वार्को ओभरपास ६ मिटर उचाइ र ४५५ मिटर लम्बाइको रहेको छ । सवारी साधनहरूलाई सहज चढ्नका लागि दायाँतर्फ १८० मिटर र बायाँतर्फ ११० मिटर र्याम्प बनाइएको छ । ग्राउन्ड क्लियरेन्स ६ मिटर रहेको छ ।
२०७८ सालबाट सुरु भएको ओभरपास निर्माण २०८० फागुनमै सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, पटक–पटक म्याद थपिँदै यसको सम्पन्नता लम्बिँदै गएको थियो । २०७८ साल फागुन १२ गते राष्ट्रियस्तरको प्रतिस्पर्धाबाट आशिष–समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ओभरपासको ठेक्का लिएको थियो ।
२०८० फागुन १२ गते सम्पन्न गर्ने लक्ष्यमध्ये ढिला भएपछि पहिलो पटक २०८१ पुस ८ गतेसम्मको म्याद थपियो । त्यसपछि पुनः चैत्र मसान्तसम्मका लागि समय मागियो । सोही अवधिमा ४० मिटर भागको पुनर्निर्माणका कारण एक महिना थप्नुपर्यो । अन्ततः २०८२ वैशाखभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि वर्षाका कारण अझ एक महिना ढिलो भयो ।
ओभरपास सञ्चालन भएपछि सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डका सवारी साधनलाई सहज हुने अपेक्षा गरिएको छ ।