तीन वटा वायुको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

by समतल अनलाइन
Shares

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि पानी परिरहेको छ। पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पर्वत ८१ र बाग्लुङमा ७८ मिलिमिटरभन्दा धेरै पानी परेको छ। पाल्पा, म्याग्दी, लमजुङ, बाँकेलगायतका ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ।

पर्वतको पन्चासे वर्षामापन केन्द्रमा ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। विभागका अनुसार हाल कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ।

मनसुनजन्य सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ। प्राधिकरणका अनुसार मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ। उक्त कार्ययोजना संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई सम्प्रेषण गरिएको छ।

You may also like