काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले यसअघिका सबै सरकारको छानबिन गर्ने सरकारको प्रतिबद्धतापछि आफूहरू सदन खोल्न तयार भएको बताएका छन्।भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको विरोध भइरहँदा अघि बढेको आइतबारको प्रतिनिधिसभा बैठकमा पुनले यस्तो प्रष्टीकरण दिएका हुन्। सरकारले ३० दिनभित्र छानबिनका लागि आवश्यक संरचना बनाउने प्रतिबद्धतासमेत जनाएको उनको भनाइ थियो।
‘माननीय गृहमन्त्री ज्यूले अहिले राजीनामा दिन्नँ, तर बाँकी सबै सरकारको तर्फबाट छानबिनका लागि हामी तयार छौँ भनेर प्रतिबद्धता सरकारले गर्यो । त्यसैगरी ३० दिनभित्र आवश्यक छानबिनको संरचना तयार गरी यो विषयलाई अगाडि बढाउने प्रतिबद्धता आएपछि हामी यो सदन नियमित गर्न सहमत भयौँ,’ उनले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन निष्पक्ष ढंगले अगाडि बढ्ने र विगतमा समेत भएको समस्या र नीतिगत तथा संरचनात्मक विषय केलाउन छानबिन चाहेको उनले बताएका छन्।
केही व्यक्तिले आफैले गृह मन्त्रालय चलाएको हुनाले माओवादी तर्सिएको हो कि भन्ने समेत सुनिएको उल्लेख गर्दै उनले त्यस्तो नरहेको बताए। बरु यो विषयमा अध्ययन र छानबिनका लागि निरन्तर खबरदारी गर्ने बताए। २ बुँदे सहमति गरेर सदन खोल्दा अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दासँग सम्बन्ध छ कि भनेर समेत कतिपयले आशंका गरे। अग्नि सापकोटाविरुद्धको मुद्दा र सदन खोल्ने विषय कुनै लेनदेनको विषय नरहेको बताए।
‘माओवादी गलेको कुरामा कुनै सत्यता छैन’ उनले भने। माओवादी उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा उठाएका विषय एक ढंगले सम्बोधन भएको भनेर छलफलमा भाग लिन आग्रह गरे । रास्वपा नयाँ दल रहेको उल्लेख गर्दै उनले अनुभव संगाल्दै अगाडि बढ्न आवश्यक रहेको बताए। उनले सत्तापक्षका सांसदहरू समेत संयमित ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन्।
‘अलिकति बल प्रयोग जस्तो, जबरजस्ती जस्तो भयो। प्रमुुख प्रतिपक्षी दल आइसक्यो, यसलाई पेले पनि हुन्छ भन्ने जस्तो ठानिनु हुँदैन’ पुनले भने। संसदीय अंकगणित कहिले कसैको ठूलो, कहिले अर्को ठूलो हुन सक्ने भन्दै उनले विगतमा रहेको प्रतिशोध अहिले नै साधौं जस्तो गर्न नहुने बताए। सभामुखले संवादको वातावरण बनाउन थप पहल लिनुपर्ने आग्रह गरे। संवाद गर्दै रास्वपालाई समेत बजेटमाथि धारणा राख्ने वातावरण बनाउन सभामुखलाई उनले अनुरोध गरे। यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल लिनुपर्ने उनको आग्रह छ।