बुटवल । बुटवलबाट पोखरा घुम्न गएकी एक महिलाको होटलको छतबाट खसेर ज्यान गएको छ।
बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जकी ३२ वर्षीया सरिता भण्डारी पोखरा महानगरपालिका–६, डिहिकोपाटनस्थित एक होटलको पाँचौं तलाबाट खसेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकले राति १ बजेर २ मिनेटमा मृत घोषणा गरेका थिए।
परिवारसहित पोखरा आएकी सरिता बिहीबार श्रीमान् र दुई छोरासहित घुम्न गएकी थिइन्। शुक्रबार राति श्रीमान–श्रीमती होटलको पाँचौं तलामा रहेको कोठाबाहिर कुर्सीमा बसेका थिए। सोही क्रममा मध्यराति करिब १२:३० बजे उनी होटलको छतबाट करिब ५५ फिट तल खसेर ढोकानजिकै भेटिएकी थिइन्।
घटनाको यकिन कारण खुल्न सकेको छैन। होटलको सो भागमा सीसीटिभी नभएकाले घटनाको प्रकृति—हत्या, आत्महत्या वा आकस्मिक दुर्घटना—के हो भन्नेबारे स्पष्ट हुन बाँकी छ।
घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले उनका श्रीमान् ३८ वर्षीय लक्ष्मण भण्डारीलाई नियन्त्रणमा लिएको छ। उनी हाल वडा प्रहरी कार्यालय बैदामको हिरासतमा छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार पोस्टमार्टम रिपोर्टपछि मात्र घटनाबारे थप यकिन नतिजा आउनेछ।
मृतकको खबर पाएपछि उनका परिवार शनिबार बिहानै बस रिजर्भ गरी पोखरा आइपुगेका छन्।