बुटवल।आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित ‘जाउँ है पोखरा’ अभियानले शुक्रबार बुटवलमा पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
होटल संघ पोखरा नेपाल र ‘जाउँ है पोखरा’ अभियानले गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा यहि जेठ २९ गतेदेखि असार २ गतेसम्म बुटवल, नेपालगञ्ज, सुर्खेत र दाङमा विशेष कार्यक्रमको आयोजना गरेको हो।
बुटवलको कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पर्यटनसँग सम्बन्धित संघसंस्था तथा सरोकारवालाहरू सहभागी थिए। प्रमुख अतिथि घिमिरेले पोखरा र लुम्बिनीलाई जोडेर संयुक्त पर्यटन प्रवर्द्धन अभियान थाल्नुपर्नेमा जोड दिँदै भने, “पोखरा प्राकृतिक रूपले सुन्दर नगरी हो भने लुम्बिनी आध्यात्मिक राजधानी हो। यी दुईलाई समेटेर पर्यटनको विकास गर्न सकिन्छ।”
घिमिरेले कास्कीमा कार्यरत रहँदा रात्रीकालीन बजार सञ्चालनमा सहयोग गरेको अनुभव सुनाउँदै पोखराको पर्यटन समृद्धिको चर्चा गरे।
कार्यक्रममा नेपाल होटल संघका केन्द्रीय सदस्य सीपी श्रेष्ठले आन्तरिक पर्यटनको सम्भावनासँगै विदेशी पर्यटकलाई आकर्षित गर्ने नीतिको आवश्यकता औंल्याए। उनले सरकारले हाल ल्याएको बजेटले भारतीय पर्यटकको आगमनमा केही आशा देखाएको पनि बताए। “भन्सार चेकजाँच र डलर बोकी आउन दिने सीमा बढाउने निर्णयले केही सहजता ल्याएको छ,” श्रेष्ठले भने।
होटल संघ पोखराका अध्यक्ष तथा ‘जाउँ है पोखरा’ अभियानका संयोजक लक्ष्मण सुवेदीले दुई दशकदेखि जारी अभियानले आन्तरिक पर्यटकलाई प्रोत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले बुटवल, भैरहवाका होटल व्यवसायीसँग सहकार्य गर्दै पोखरा–लुम्बिनी–भैरहवा सिधा जोड्ने अभियान चलाउनु आवश्यक रहेकोमा जोड दिए।
उनले पोखरासँग पश्चिम नेपालका सहरहरू जोड्न सिधा बस सेवा सञ्चालन र भैरहवा–पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउनुपर्ने मागसमेत गरे।
कार्यक्रममा बोल्दै होटल व्यवसायी गोपाल रानाले वर्तमान सरकारले होटल क्षेत्रलाई उद्योगसरह मान्यता दिएकोमा सन्तोष व्यक्त गर्दै यसले सकारात्मक ऊर्जा प्रदान गरेको बताए।
यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल, लेखक युवराज कंडेल लगायत वक्ताहरूले ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सिकाइको अवसर भएको बताएका थिए।
कार्यक्रमपछि अब नेपालगञ्ज, सुर्खेत र दाङको घोराहीमा पनि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।
पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई सफल बनाउनसमेत अभियानले अपिल गरेको छ।
होटल संघ पोखराका अनुसार हाल पोखरामा पाँच खर्ब रुपैयाँभन्दा बढीको लगानीमा एक हजार दुई सय होटल सञ्चालनमा छन्, जसमा झण्डै ४० हजार बेड र २० हजारभन्दा बढी जनशक्ति संलग्न छन्। संघले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘फेवा नव वर्ष महोत्सव’, ‘भाइटिका महोत्सव’, ‘खाना महोत्सव’ र विभिन्न खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको छ।
विदेशी पर्यटक आकर्षणका लागि संघले भारतका विभिन्न शहरहरूमा ‘चलिए पोखरा’ अभियान सञ्चालन गर्नुका साथै अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूमा सहभागिता जनाउँदै आएको छ।
पोखरा भ्रमणको निम्तो दिंदै अभियानले पोखरामा बञ्जी जम्पिङ, जीप लाइनिङ, सन्ध्याकालीन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङलगायतका विविध रोमाञ्चक गतिविधि उपलब्ध रहेको जानकारी दिएको छ। “पोखरा नेचर, कल्चर र एड्भेञ्चरका हिसाबले सबैभन्दा उपयुक्त गन्तव्य हो,” आयोजकले भनेका छन्।