संसदमा अब विपक्षीको पनि दुई कित्ता

by समतल अनलाइन
Shares

काठमाडौँ । संसदमा यसअघि एकढिक्का देखिएका विपक्षी दलहरू आज (शुक्रबार) बाट दुई कित्तामा बाँडिएका छन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए। तर नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ। उक्त समझदारी राप्रपा र रास्वपाले अस्वीकार गरेको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नेदेखि छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दासम्म विपक्षी दलहरू सँगै थिए।

माओवादी थप लचक भएर सत्तापक्षसँग सहमति गर्न पुगेपछि प्रतिपक्षी दुई कित्तामा बिभाजित हुन पुगेका हुन्। रास्वपा र राप्रपाले आन्दोलन जारी रहने बताएका छन्। पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले गर्ने छानबिन उचित नरहेकाले विरोध गर्ने बताएका छन्। रास्वपाले छानबिन समिति किटान नगरेकाले आन्दोलन जारी रहने बताएको छ। विपक्षी दल दुुई कित्तामा बाँडिएसँगै प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले उठेर टेबुल ढ्यापढ्याप पारेका छन्। त्यही ढ्यापढ्यापबीच प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले धारणा राखेका छन्।

केही बेर दुई दलका सांसद उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरे रोकिए पनि उनीहरू बस्ने छाँट नदेखेपछि सभामुखले पाण्डेलाई बोल्न दिएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए। आज सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच सदनमा देखिएको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ। तर, सहमतिमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाइसकेका छन्। ती दुई दलले उठेर टेबुल ठटाएर विरोध गरेका हुन्।

You may also like