काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित भएको छ। प्रतिपक्षी दलले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रबार १ बजेका लागि स्थगित भएको जानकारी गराएका हुन्।
बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए। भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन्। उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद सांसदहरुको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरेका थिए।
संघर्षको स्वरुप परिवर्तन गर्दै संसद सञ्चालन हुने अवस्था सिर्जना गर्न समेत उनले आग्रह गरे। प्रतिपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरले कार्यसूचीमा रहेका कार्यक्रमलाई हटाउँदै शुक्रबार १ बजे बस्नेगरी स्थगित गरेका हुन ।
भिजिट भिसा प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन्। यद्यपि रास्वपाले निर्णय लिनका लागि थप समय माग गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार भोलिदेखि नियमित रुपमा संसद चल्नेछ।