बुटवलमा औषधि व्यवसायीको गुनासो : अवैध व्यापार र नीति अस्पष्टताले व्यवसाय संकटमा

by समतल अनलाइन
Shares

बुटवल।खुला सीमाना, अवैध औषधि आयात, बिना दर्ता पसल सञ्चालन तथा घुमन्ते विक्रेताको सक्रियताका कारण औषधि व्यवसाय संकटमा परेको औषधि व्यवसायीहरुले गुनासो गरेका छन्।

नेपाल औषधि व्यवसायी संघ रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको स्वास्थ्य सञ्चार कार्यक्रममा बोल्दै व्यवसायीहरुले नीतिगत अस्पष्टता र सरकारी निकायबाट व्यवसायप्रति हुने व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा सहभागि व्यवसायीहरुले एलोपेथिक र आयुर्वेदिक औषधि एउटै पसलबाट बिक्री गर्न नपाइने सरकारी नीतिको आलोचना गरे। साथै, औषधिमा भ्याट नलाग्ने तर औषधिजन्य सामग्रीमा भ्याट लाग्ने व्यवस्थाले व्यवसायी मर्कामा परेको भन्दै गुनासो गरे।

स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले औषधि उत्पादनदेखि बिक्रीसम्म सबै पक्षको जनस्वास्थ्यमा आ–आफ्नो भूमिका रहेको उल्लेख गर्दै, स्वास्थ्य कार्यालयले नियमित अनुगमनलाई प्राथमिकतामा राखेको बताए।

उनले गलत क्रियाकलापमा संलग्न व्यवसायीलाई कारवाहीका लागि सिफारिस गरिएको जानकारी दिँदै जनस्वास्थ्य सुधारका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताए।

औषधि व्यवसायी संघ रूपन्देहीका अध्यक्ष खड्गबहादुर बस्नेतले औषधि व्यवसायलाई व्यवस्थित बनाउनु आजको आवश्यकता भएको बताए। उनले एमआरपी भन्दा बढी मूल्यमा औषधि नबेच्न र म्याद नाघेका औषधिको कारोबार नगर्न व्यवसायीहरुलाई सचेत गराए।

संघका संस्थापक अध्यक्ष सुरज भट्टराईले पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै संघ उपभोक्तामैत्री सेवा प्रवाह गर्न कटिबद्ध रहेको बताए।

संघका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक केदार नेपालले संघले वर्षेनी सञ्चालन गर्दै आएका स्वास्थ्यसम्बन्धी कार्यक्रमबारे जानकारी गराए।

कार्यक्रममा औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा विशेष सल्लाहकार बाबुराम भट्टराई, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले आ–आफ्नो धारणा राखेका थिए।

संघका अनुसार हालसम्म औषधि व्यवस्था विभागमा दर्ता भएका रूपन्देहीका खुद्रा व्यवसायीको संख्या १,३४५ छ। यसमा एलोपेथिक १,०९२, आयुर्वेदिक १०५, होमियोप्याथिक ३० र भेटेनरी ११८ व्यवसायी छन्। संघमा करिब १,१०० व्यवसायी सदस्य रहेका छन् भने वैशाख मसान्तसम्म ७८५ वटा पसलले नवीकरण गरिसकेका छन्।

त्यस्तै, विभागमा दर्ता भएका थोक व्यवसायी २९८ छन्। जसमा एलोपेथिक २५३, आयुर्वेदिक १८, होमियोप्याथिक २, युनानी १ र भेटेनरी २४ व्यवसायी छन्। यीमध्ये १६३ व्यवसायीले नवीकरण गरिसकेको संघले जनाएको छ।

संघले गरेको आन्तरिक सर्वेक्षण अनुसार हाल रूपन्देहीमा ५६० वटा औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएको छ। कार्यक्रमको सञ्चालन संघका महासचिव कृष्ण पोखरेलले गरेका थिए।

You may also like

This will close in 0 seconds