काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालका आप्रवासीहरूको ‘टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) खारेजको घोषणा गरेको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले गरेको एक संक्षिप्त घोषणामा नेपाली टीपीएस सुविधा प्रयोगकर्ताहरूलाई स्वयं अमेरिका छोड्ने तयारी गर्न आग्रह गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले बिहीबार नेपालको अवस्था सुधार भएको र अब नेपालले टीपीएसको मापदण्ड पूरा नगर्ने बताएको छ ।
अमेरिकाले नेपालीलाई यो स्थिति सन् २०१५ जुनमा आएको भूकम्पपछि पहिलो पटक दिएको थियो। टीपीएस सामान्यतया १८ महिनाका लागि दिइन्छ । यो पहिलो पटक २०१६ अक्टोबरमा तत्कालीन राष्ट्रपति बाराक ओबामाको दोस्रो कार्यकालमा बढाइएको थियो। ट्रम्प प्रशासनको गृह सुरक्षा विभागले २०१८ मा यो स्थिति खारेज गर्न खोजेको थियो। तर, इमिग्रेसन अधिवक्ताहरूको मुद्दाले विभागलाई टीपीएसलाई २०२० मार्च, २०२१ जनवरी र २०२२ सम्म बढाउन बाध्य बनाएको थियो ।
यसपछि गृह सुरक्षा विभागले फेडरल रजिस्टरमा सूचना जारी गर्दै बाइडेन प्रशासनले निर्वासन सुरक्षा दुईपटक बढाएको र यो २०२५ जुन २४ मा समाप्त हुने बताएको थियो । गृह सुरक्षा विभागले आफ्नो सूचनामा उल्लेख गरे अनुसार, नेपालले विगत १० वर्षमा पुनर्निर्माणमा ठूलो प्रगति गरेको छ । सेप्टेम्बर २०२४ को प्रतिवेदन अनुसार, ध्वस्त भएका घरहरूको लगभग ८८ प्रतिशत पुनर्निर्माण भइसकेको बताएको छ ।
टीपीएस अस्थायी हुन्छ, तर यसले धेरैलाई अमेरिकामा काम गर्न र स्थायी भिसाको लागि आवेदन दिन अनुमति दिन्छ । ‘नेपालले भूकम्पपछिको पुनर्निर्माण, वातावरणीय प्रकोप तयारी र प्रतिकार क्षमतामा उल्लेखनीय सुधार गरेको छ’, अमेरिकी गृह सुरक्षा विभागको सूचनामा भनिएको छ, ‘यसले नेपालले आफ्ना नागरिकको फिर्तालाई पर्याप्त रूपमा व्यवस्थापन गर्न सक्षम भएको देखाएकाले गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विदेश विभागसँग परामर्श गरी यो निर्णय गरेकी छन् ।’
क्रिस्टी नोएमको बिहीबारको निर्णय अनुसार, नेपालीहरूको टीपीएस २०२५ अगस्ट ५ मा समाप्त हुनेछ। अमेरिकी विदेश विभागले नेपाललाई यात्राको सन्दर्भमा ‘स्तर २ः बढी सतर्कता अपनाउनुहोस्’को रूपमा वर्गीकृत गरेको छ, जुन राजनीतिक हिंसाको जोखिमका कारण हो। अमेरिकाले नेपालका लगभग सात हजार ५०० टीपीएस सुविधा बाहकहरूलाई अमेरिका छोड्न तयारी गर्न भनेको छ। उनीहरूलाई सीबीपी होम एपको स्वयं निर्वासन प्रक्रिया सुरु गर्न सुझाव दिइएको छ।