बुटवल।बुटवलमा दर्ता बिना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिक र एक डेन्टल क्लिनिकलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा भएको अनुगमन टोलीले बन्द गराएको छ।
सार्वजनिक गुनासोपछि बुटवल क्षेत्रका विभिन्न ११ वटा मेडिकल र क्लिनिकहरूमा गरिएको अनुगमनका क्रममा ६ वटा क्लिनिक तथा एउटा डेन्टलले कुनै आधिकारिक दर्ता नगरी सेवा दिइरहेको पाइएपछि ती संस्थाहरू तत्कालै बन्द गरिएका हुन्।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जनगुनासोका आधारमा गरिएको अनुगमनमा कानुनी प्रक्रिया पालना नगरी सञ्चालनमा रहेका क्लिनिक तथा डेन्टल क्लिनिक बन्द गरिएको जानकारी दिए।
उनका अनुसार अनुगमनका क्रममा बुटवल अस्पताल लाइन क्षेत्रमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसी अन्तर्गतको कलेक्स ल्याब, बरदान क्लिनिक प्रा.लि र शिला मेडिकल हल क्लिनिक बन्द गरिएका छन्। साथै, बुटवल डेन्टल प्रा.लि लाई पनि दर्ता बिना नै सञ्चालनमा रहेको भन्दै तत्कालै बन्द गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी रानाका अनुसार, ती संस्थाहरूले स्वास्थ्य सेवा ऐनअनुसार आवश्यक अनुमतिपत्र नलिएर गैरकानुनी रूपमा सेवा दिँदै आएका थिए, जसले नागरिकको स्वास्थ्य सुरक्षामै गम्भीर जोखिम निम्त्याउन सक्छ।
उनले भने, “जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेवामा यस्ता लापरवाही स्वीकार्य हुँदैन। दर्ता प्रमाणपत्र प्राप्त गरेपछि मात्र क्लिनिक पुनः सञ्चालन गर्न अनुमति दिइनेछ।”
अनुगमन टोलीमा स्वास्थ्य कार्यालय रुपन्देही, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च तथा जिल्ला प्रहरी कार्यालय का प्रतिनिधिहरू सहभागी थिए। अनुगमन टोलीले सबै क्लिनिकहरूलाई स्वास्थ्य मापदण्ड तथा कानुनी प्रक्रिया पालना गर्न पनि निर्देशन दिएको छ।
अनुगमन टोलीका एक सदस्यका अनुसार अधिकांश क्लिनिकहरू नाम मात्रैका मेडिकल पसलको आडमा चिकित्सकीय सेवा दिइरहेका थिए, जसमा लाइसेन्स प्राप्त स्वास्थ्यकर्मीको अभाव, स्वास्थ्य सामग्रीको अभिलेख नरहनु, फोहोर व्यवस्थापनको अभावजस्ता समस्या देखिएको थियो।