बुटवल । तिलोत्तमा नगरपालिका–५ को आयोजनामा एक महिने क्रिकेट प्रशिक्षण तालिम सम्पन्न भएको छ।तालिममा १३ देखि १८ वर्ष उमेर समूहका ३५ जना खेलाडी सहभागी भएका थिए।
समापन समारोहको अध्यक्षता तिलोत्तमा–५ का वडा अध्यक्ष रमेश डुम्रेको नेतृत्वमा सम्पन्न भयो। समापन समारोहमा वडा अध्यक्ष रमेश डुम्रेले यस्तो तालिमले किशोरहरूमा खेलप्रति रुचि र अनुशासनको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , “हाम्रो वडामा खेलकुद गतिविधि बढाउन निरन्तर काम भइरहेको छ। क्रिकेटजस्तो लोकप्रिय खेलमा युवा सहभागिता बढ्नाले सकारात्मक परिवर्तन ल्याउँछ।”
कार्यक्रममा स्वागत मन्तव्य दिंदै वडा सदस्य हरि पन्थले स्थानीय तहबाट खेल क्षेत्रमा गरिएको लगानीले प्रतिभा पहिचान गर्न सहयोग पुगेको बताउनुभयो । “हाम्रो उद्देश्य युवा पुस्तालाई सशक्त बनाउने हो,” उहाँले भन्नुभयो ।
त्यसैगरी, टोल विकास सञ्जाल तिलोत्तमा–५ का अध्यक्ष हरि पाण्डेले तालिममा सहभागी भएका खेलाडीहरू भविष्यमा जिल्लाको प्रतिनिधित्व गर्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो , “यस किसिमका तालिमले खेलाडीहरूको आत्मविश्वास बढाउँछ।”
तिलोत्तमा क्रिकेट एकेडेमीका सञ्चालक कृष्ण भुषालले प्रशिक्षणका क्रममा खेलाडीहरूलाई आधारभूत सीपदेखि व्यावसायिक शैलीसम्म सिकाइएको जानकारी दिनुभयो । “खेलकुद अनुशासन र परिश्रमको नाम हो। यस तालिममा सहभागीहरूले राम्रो प्रदर्शन गरे,” उहाँले भन्नुभयो ।
तालिमको मुख्य प्रशिक्षकका रूपमा राष्ट्रिय क्रिकेट खेलाडी कृष्ण कार्कीले प्रशिक्षण दिनुभएको हो । उहाँले सहभागीहरूलाई बलिङ, ब्याटिङ, फिल्डिङ, टोली समन्वय, मानसिक तयारी र फिटनेसका विविध पक्षमा व्यावसायिक ढंगबाट प्रशिक्षण दिनुभयो । प्रशिक्षक कार्कीले भन्नुभयो , “यी खेलाडीहरूमा ठूलो सम्भावना देखिन्छ। नियमित अभ्यास र अवसर पाउँदा उनीहरूले राष्ट्रिय स्तरसम्म पुग्न सक्छन्।” तिलोत्तमा – ५ को १ लाखको आर्थिक लागत प्रशिक्षण भएको हो ।