काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी, बचत अपचलन र हिनामिनामा झुटा मुद्दा लगाएको भन्दै प्रतिशोधविरूद्ध न्यायका लागि वृहत अभियान चलाउने भएको छ ।
आज (सोमबार) को सचिवालय बैठकले संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान गर्दागर्दै सभापति लामिछानेलाई फसाउने नियतले सरकारले झुटा मुद्दा लगाएको निचोड निकालेको हो ।
‘पार्टी सभापति रवि लामिछानेलाई षड्यन्त्रपूर्वक राज्य संयन्त्र र कानुनलाई अस्त्रीकरण गर्दै लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाको पछिल्लो अवस्थाका सम्बन्धमा पार्टी सचिवालय बैठकमा छलफल भयो,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ’सहकारी बचतकर्ताका करोडौं, अर्बौं रकम अपचलनमा संलग्न सहकारी सञ्चालक, व्यवस्थापकहरू १०–२० लाख रूपैयाँ धरौटी बुझाएर एकै दिन पनि प्रहरी हिरासत समेत नबसी अदालतबाट रिहा हुने, तर सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका र संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान भएका रवि लामिछानेलाई फसाउने नियतले सरकारले लगाएको झुटा मुद्दा, प्रतिशोधविरूद्ध न्यायका लागि वृहत अभियान अन्तर्गत हस्ताक्षर अभियानलाई व्यापक बनाउने निर्णय भएको छ ।’
बुटवलको सुप्रिम बचत तथा सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्ट्याएपछि सभापति लामिछाने अहिले पुर्पक्षका लागि थुनामा छन् । पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना र ठगी प्रकरणमा उनीविरूद्ध मुद्दा चलिरहेको छ ।