काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन्। राप्रपा अध्यक्ष लिङदेनले पक्राउ गरिएका नेता थापालाई तत्काल ससम्मान रिहा गर्न माग गरेका छन्। आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरूलाई पक्राउ गरेको हो।
प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि थप सशक्त बनाइने चेतावनी दिएका छन्। उनले सरकारले निषेधित क्षेत्र बाहिर पनि धरपकडको नीति लिएको भन्दै आक्रोश पोखेका छन्। प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’ उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?’
कमल थापालाई फिर्ता गर्न माग गर्दै लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ।’ उनले आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिए । अहिले नक्सालस्थित प्रहरी हेडक्वार्टर अगाडिको सडकमै राजावादीले प्रदर्शन गरिरहेका छन्। बिहीबारदेखि सुरु भएको वर्तमान व्यवस्था विरोधी प्रदर्शनको कार्यक्रम अनुसार आज नक्सालमा तय भएको राप्रपाका नेता जनकराज पाठकले बताएका छन्। राप्रपा, राप्रपा नेपालसहितका राजावादी दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै यही जेठ १५ गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।
उनीहरुले यो आन्दोलनलाई निर्णायक बनाउने बताएका छन्। आज उनीहरुले नक्शाल र बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो । कमल थापा प्रदर्शनकारीको नेतृत्व गर्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापासहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।