काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्ला दुुई दिनमै २१ जनाको मृत्यु भएको छ। कोरोनाका कारण पछिल्लो पटक शनिबार बेंगलुरुमा ६३ वर्षीय पुरुष र दिल्लीमा एक ६० वर्षीय पुरुषकै मृत्यु भएको हो। अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३,७८३ पुगेको छ। यसमा सबैभन्दा बढी केरलामा एक हजार ४ सय जना संक्रमित छन्। अनि महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोनाका बिरामी छन्।
पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २१ जनाको मृत्यु पछिल्ला २ दिनमा भएको हो। यसैबीच कर्नाटक सरकारले सूचना जारी गरी भीडभाड भएका ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन मानिसहरूलाई आग्रह गरेको छ। ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ। छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोना संक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ।