बुटवल।एफडी मोटर्सले आइतबार बुटवलमा आफ्नो छैठौँ शाखा विस्तार गर्दै नयाँ स्कुटर सार्वजनिक गरेको छ। बुटवल-१० कालिकानगरस्थित नयाँ शोरुमको उद्घाटनसँगै कम्पनीले ‘एफ-५ ए प्रो’ मोडलको स्कुटर बजारमा ल्याएको हो।
उद्घाटन समारोहको प्रमुख अतिथिका रूपमा सहभागिता जनाएका बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवललाई लगानीमैत्री सहरका रूपमा विकास गर्न स्थानीय सरकारले आवश्यक पूर्वाधार तथा सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले भने, “बुटवलमा लगानीको अपार सम्भावना छ। निजी क्षेत्र तथा व्यवसायिक प्रतिष्ठानहरूलाई यहाँ लगानी गर्न उपमहानगर सधैं तयार छ।”
मेयर पाण्डेयले औद्योगिक तथा व्यवसायिक क्षेत्रको विकासले बुटवललाई आर्थिक हबको रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरे। उनले एफडी मोटर्सलाई धन्यवाद दिँदै बुटवलमा लगानी गर्ने अन्य कम्पनीहरूलाई पनि यसबाट प्रेरणा लिन आग्रह गरे।
एफडी मोटर्सले सार्वजनिक गरेको ‘एफ-५ ए प्रो’ स्कुटर विद्युतीय (इलेक्ट्रिक) मोडेल हो, जसलाई कम्पनीले युवापुस्तालाई लक्षित गर्दै आधुनिक प्रविधियुक्त बनाएको जनाएको छ। स्कुटरको डिजाइन, माइलेज तथा सुरक्षा सुविधालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ।
शोरुम उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधि, उद्योगी–व्यवसायी, उपमहानगरका पदाधिकारी, तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।