लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालन, ३ सयको रक्तदानबाट शुभारम्भ

Shares

बुटवल ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो ।

रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका छन् । केन्द्रको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गरे ।

अस्पतालले अन्य स्वास्थ्य संस्थाहरुमा समेत रगत उपलब्ध गराउन सक्ने क्षमतासहित रक्तसञ्चार केन्द्र स्थापना भएको बताउँदै दिर्घकालिन सञ्चालनमा जोड दिए । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारे पनि निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिइरहेको उल्लेख गरे ।

‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ ।

सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ ।’–उनले भने । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिए ।

अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उनको भनाइ थियो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले बुटवल मात्रै नभई सिँगो प्रदेशको आर्थिका आधारको रुपमा लिएको बताए ।

अस्पतालको स्तरोन्नती र गुणस्तरीय सेवा प्रभाहमा भएका प्रगतिले पनि यस तथ्यलाई प्रमाणित गर्ने उल्लेख गरे । अस्पतालमा गुणस्तरीय र विशिष्टिकृत स्वास्थ्य सेवाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षसम्ममा गौरव आयोजना पूरा गर्नका लागि ३ अर्ब बढी लगानी गरिसक्ने जानकारी गराए ।

अस्पतालमा निर्माणाधिन भवनको काम सम्पन्न गर्नका लागि ६ अर्ब बढी गलानी लाग्ने बताउँदै उनले यसका लागि आवश्यक स्रोत व्यवस्थापन र कार्यान्वयनमा सरकार गम्भिर रहेको उल्लेख गरे । यसैगरी अस्पतालमा अबको महिना दिनभित्रै एमआरआई मेशिन खरिद हुने जानकारी गराए । यसबाट यहाँका जनताले थप स्वास्थ्य सेवा लिन पाउने उल्लेख गरे ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई आर्थिक केन्द्र बनाउनका लागि एक महत्वपूर्ण आधार लुम्बिनी प्रादेशिक अस्पताल भएको बताए । यसका लागि केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर अघि बढ्नपर्ने उनको सुझाब छ ।

यसैगरी यहाँका निजी मेडिकल तथा स्वास्थ्य संस्थाहरुले पनि आफ्नो आधारलाई बिस्तार गर्नका लागि प्रादेशिक अस्पतालको बिकासमा हालेमालो गर्न आवश्यक रहेको औल्याए । अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालको बिकासलाई समग्र लुम्बिनी प्रदेशको बिकासको आधारसँग जोडेर हेर्नुपर्ने बताए ।

सीमित जनशक्ति र स्रोतसाधनबाटनै अस्पतालले ठूलो जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको स्मरण गराउँदै उनले यदी सरकारले मापदण्डले तोके अनुसार यहाँ प्राप्त जनशक्ति र अन्य स्रोत साधन उपलब्ध गराउन सक्ने हो भने अहिलेकोभन्दा कयौँ गुणा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले अस्पतालमै रक्तसञ्चार केन्द्रको स्थापना भएर उत्कृष्ट अभियानको शुभारम्भ एको उल्लेख गरे । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले अस्पतालमा शुभारम्भ गरिएको रक्तसञ्चार केन्द्र दिर्घकालिन बनाउनका लागि यहाँका सबै सामाजिक संघ संस्थाको सहयोग र साथ महत्वपूर्ण रहने उल्लेख गरे ।

अस्पतालको सेवा क्षेत्रभित्र रहेका ४० लाख बढी जनसङ्ख्या मध्येबाट वार्षिक साढे ३ लाख देखि साढे ४ लाख जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी गराउँदै उनले गुणस्तरीय सेवालाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।

अस्पतालले सेवा बिस्तार तथा गुणस्तर सुधार गर्दै आकस्मिक कक्षको बेड बिस्तार, प्रदेशकै ठूलो र गुणस्तरीय प्रयोगशाला बिस्तार लगायतका कामहरु भएको जानकारी गराए । अस्पतालमा एमआरआई मेशिन खरिदका लागि गत साता निर्याताकर्ता कम्पनीसँग सम्झौता भएको जानकारी गराउँदै केही हप्ताभित्रै अस्पतालमा मेशिन आउने उल्लेख गरे ।

यस्तै ब्रेस्ट क्यान्सरको स्क्यानिङ तथा उपचार सेवा, डिजिटल कार्ड सिस्टम लागू गर्न लागिएको बारे पनि जानकारी गराए ।

रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारीले अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनासँगै अब यसको सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिए ।

एकसाथ एक जहार युनिट रगत सङ्ग्रह गर्न सक्ने क्षमतासहितको उपकरण अस्पतालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै उनले अब यसको दिर्घकालिन सञ्चालनका लागि अस्पताल र यहाँका अन्य सामाजिक संघ संस्थाहरुको समेत भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।

अस्पतालमा मात्र नभई समग्र लुम्बिनी प्रदेशलाई आवश्यक रगत उपलब्ध गराउन सक्नेगरी रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको उनले बताए ।

You may also like

This will close in 0 seconds