बुटवल। अन्तर्राष्ट्रिय दुध दिवसको अवसरमा बुटवल उद्योग वाणिज्य संघमा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। बुटवल उद्योग वाणिज्य संघ अन्तर्गत गठित डेरी बस्तुगत समितिको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा बुटवल क्षेत्रका १७ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा एभरेष्ट माध्यमिक विद्यालयकी खुसी पाण्डे प्रथम, स्कलर्श होमकी स्लेसा शर्मा द्वितीय र न्यू होराइजनकी तेजश्वी नेपाल तृतीय स्थानमा रहन सफल भए। ग्यानोदय माध्यमिक विद्यालयका दिपेश रोकाया र नवरत्न माध्यमिक विद्यालयकी समिक्षा लम्पाल सान्त्वना स्थानमा चयन भए। मुल्यांकन समितिका सदस्य तथा पशुपंछी निर्देशनालयका नरेन्द्र पौडेलले विजयीहरूको नाम घोषणा गर्नुभएको हो।
विजेताहरूलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नगद पुरस्कारसहित सम्मान गर्नुभयो। प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई ५ हजार रुपैयाँ, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई जनही १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा नगरप्रमुख पाण्डेयले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर र खपतमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले चिसो पेय पदार्थको सट्टा मोहीजस्ता परम्परागत तथा स्वास्थ्यवर्धक पदार्थको प्रयोग बढ्दै गएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले आम उपभोगकर्तामा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, संघका अध्यक्ष हरिप्रसाद अर्यालले “दुध के हो, दुधमा के छ?” भन्ने सन्देश विद्यार्थीमार्फत जनसमुदायमा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई यस्ता गतिविधिमा संलग्न गराउँदा उनीहरूमा उद्यमशीलता र जिम्मेवारीको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्याल, लुम्बिनी प्रदेश सरकार अन्तर्गत पशुपंछी निर्देशनालयका पशु चिकित्सक डा. लोकराज भुसाल, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराई लगायतको उपस्थिति र मन्तव्य रहेको थियो।