बुटवल ।रुपन्देहीको यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण मिलाएर अर्कै व्यक्तिलाई दिने कार्यमा संलग्न भएको आरोपमा तीन जना तत्कालीन कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र दाङ, तुलसीपुरस्थित कार्यालयका कम्प्युटर अपरेटर अनिल बुढामगरले मिलेमतोमा गलत तरिकाले लाइसेन्स विवरण मिलाएको पाइएपछि उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
कसरी भयो विवरण मिलाइ?
अख्तियारका अनुसार सभ्यता के.सी. नामकी व्यक्तिले आफू ट्रायल वा लिखित परीक्षा नदिई अरूकै नाममा बनिसकेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नो नाममा दिलाउन ती कर्मचारीसँग मिलेमतो गरेकी थिइन्।
लाइसेन्स नम्बर ०१-०८-०१०३१२६२ को विवरण प्रारम्भमा अर्कैको नाममा थियो। तर, उक्त लाइसेन्सको Category B – कार, जीप, डेलिभरी भ्यान सम्बन्धी विवरण प्रणालीमा परिवर्तन गरेर सभ्यता के.सी.को नाममा अद्यावधिक गरियो।
EDLVRS प्रणाली (लाइसेन्ससम्बन्धी सरकारी डेटाबेस) मा Applicant ID एकपटक मात्रै प्रयोग गर्न मिल्ने प्रावधान हुँदाहुँदै पनि ती कर्मचारीले सोही ID प्रयोग गरी अर्कै नामको लाइसेन्स सभ्यता के.सी.को नाममा प्रविष्ट गरे। यस्तो कार्य नियोजित ढंगले, गैरकानूनी तरिकाले र बदनियतपूर्वक गरिएको भन्दै आयोगले आरोपपत्रमा उल्लेख गरेको छ।
तिलोत्तमा नगरपालिका–४ की सभ्यता के.सी.ले लाइसेन्स प्राप्त गर्न कानूनी प्रक्रिया नअपनाई अरूकै विवरण प्रयोग गरेकी थिइन्। उनले सरकारी प्रणालीमा हस्तक्षेप गरी गैरकानूनी लाभ उठाएकी हुनाले उनलाई पनि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुख्य दोषीसरह सजाय दिनुपर्ने माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
चारैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ९ (निजी लाभ लिन सरकारी दस्तावेजमा हेरफेर) र दफा ११ (कागजातको दुरुपयोग) अन्तर्गत सजाय माग गरिएको छ। सभ्यता के.सी.लाई पनि ऐनको दफा २२ अनुसार मुख्य दोषीसँगै बराबरको सजाय हुनुपर्ने माग गरिएको छ।
आरोपपत्र हेरौं :-
यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसमेत ४ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा ०१-०८-००८३६६८७ सभ्यता के.सी.को मा B add हुनपर्नेमा ०१-०८-०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट मिति २०७८।१२।०७ (21-Mar-2022) मा अर्कै व्यक्ति (Applicant ID 8401685) को नाममा जारी भएको Category B- Car, Jeep, Delivery Van को सावरी चालक अनुमतिपत्रको विवरण परिवर्तन गरी सोही Applicant ID र लाइसेन्स नम्बर हुने गरी लिखित र ट्रायल परीक्षामा सामेल नै नभएका प्रतिवादी सभ्यता के.सी.को नामको विवरणहरु EDLVRS प्रणालीमा परिवर्तन (edit) गरी अद्यावधिक गरी गराई बदनियत राखी कलुसित मनसायका साथ अर्कै व्यक्तिको नामको सक्कल सवारी चालक अनुमतिपत्रका विवरणहरु प्रतिवादी सभ्यता के.सी. भन्ने व्यक्तिको सवारी चालक अनुमतिपत्रमा विवरण उल्लेख गरी गराई सावरी चालक अनुमतिपत्र जारी गरे गराएको, यातायात व्यवस्था बिभाग, मीनभवन, काठमाडौंको पत्र अनुसार प्रत्येक व्यक्तिको Applicant ID Unique हुने गरेको र Database बाट एक चोटी कसैको बिबरणको नाममा उत्पत्ति भएको Applicant ID अन्य कुनै व्यक्तिको नाममा उत्पत्ति हुदैन भन्नेसमेत व्यहोरा उल्लेख भएको आधारमा प्रतिवादीहरुले यातायात व्यवस्था बिभागमा रहेको EDLVRS प्रणालीमा Applicant Id 8401685 बाट जारी भएको अर्कै व्यक्तिको नामको Category B को सवारी चालक अनुमतिपत्र ०१-०८-०१०३१२६२ मा प्रतिवादीहरुले आपसी मिलोमतो तथा योजनामा बदनियत राखी गैरकानूनी तरिकाले सच्चाई प्रतिवादी सभ्यता के.सी.को विवरण प्रविष्ट गरी गराई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरी जारी गरे गराएको तथ्य स्थापित भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ४ बस्ने सभ्यता के.सी.ले Category B को सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रचलित यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रक्रियामा भाग नलिई अर्कौ व्यक्तिको Applicant ID वदनियत साथ दुरुपयोग गरी उल्लेखित प्रतिवादीहरुसँगको मिलोमतो तथा योजनामा यातायात व्यवस्था विभागको प्रणालिमा रहेको उक्त सरकारी सार्वजनिक अभिलेख गैरकानूनी तरिकाले सच्याउन लगाई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरी गराई निजले सवारी चालक अनुमतिपत्र प्राप्त गरी प्रयोग प्रचलनमा समेत ल्याएको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसूरजन्य कार्यको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक बाक्यांशमा परिभाषित भएबमोजिमको कसूर भएको हुँदा मुख्य कसुरदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम निजलाई मुख्य कसूरदारसरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया