बुटवल । सामाजिक सेवामा सक्रिय संस्था नमस्ते नेपालले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा लुम्बिनीमा कार्यक्रमको आयोजना गरेको छ ।
तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकबाट सुरु भएको यात्रा लुम्बिनी पुगेर दीप प्रज्वलन र ध्यान साधना गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उद्देश्य शान्ति, सामाजिक सद्भाव र सेवाको सन्देश फैलाउनु रहेको थियो ।
कार्यक्रममा लुम्बिनी विकास क्षेत्रका भिक्षुहरूसहित १२ सय बढी युवाको सहभागिता रहेको थियो । सहभागीहरू १८ वटा बस र एम्बुलेन्ससहित मणिग्राम चोकबाट लुम्बिनी गएका थिए ।
स्थापना दिवसको अवसरमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकले शुभकामना सन्देश पठाएका थिए । उनीहरूले नमस्ते नेपालले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यको शुभकामना व्यक्त गरेका थिए ।
नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलका अनुसार यो दिन नेपालभित्र मात्र नभई विदेशस्थित संस्थाका शाखाहरूमा पनि प्रचार–प्रसार र दीप प्रज्वलन कार्यक्रम गरिएको थियो । उनले अन्तर्राष्ट्रिय रूपमा पनि नमस्ते नेपालका गतिविधिहरू विस्तार भइरहेका बताएका छन् ।
स्थानीय रूपमा तिलोत्तमा नगरपालिकाको कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सो कार्यक्रमको संयोजन नमस्ते नेपालका बरदान आचार्यले गरेका थिए ।
संस्थापक अध्यक्ष अर्जुन खरेलले नमस्ते नेपाल १४ वर्षअघि बालक्लबको रूपमा स्थापना गरिएको जानकारी गराए । सुरुमा साना बालबालिकालाई सामाजिक कार्यमा जोड्ने उद्देश्य राखेर क्लब सुरु गरिएको थियो ।
समयसँगै क्लबले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै रक्तदान, सरसफाइ, शिक्षा सहयोग, विपद् व्यवस्थापन, वृक्षारोपण, महिला सशक्तीकरण, बाल अधिकारजस्ता सामाजिक अभियानमा सक्रिय भूमिका खेलेको उनले बताए ।
संस्थाका अध्यक्ष मनिष भुसालले संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सहायता जस्ता क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको जानकारी दिए । साथै, युवाहरूलाई नेतृत्व विकासमा जोड दिँदै सामाजिक जिम्मेवारीप्रति सचेत गराउने काममा पनि संस्था लागिपरेको उनले उल्लेख गरे ।
१४ वर्षअघि सुरु भएको बालक्लब आज सामाजिक रूपान्तरणतर्फ उन्मुख एक प्रेरणादायी संस्थाको रूपमा स्थापित भएको छ । नमस्ते नेपालको यात्रा आज पनि निरन्तर सामाजिक सेवाका मार्गमा अघि बढिरहेको छ ।