काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन्।
‘स्रोत व्यवस्थापनको सीमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले भने, ‘विगतका कमजोरीहरुलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरु सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ।’
अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ। विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सीमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ । ‘बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ। निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ। स्टार्टअप, युवा, उद्यमीहरुलाई प्रोत्साहित गर्नेछ’, अर्थमन्त्री पौडेलले भने । उनले सबै पक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्ने बताए ।