काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार नभए पनि कार्यान्वयनमा शंका रहेको प्रतिक्रिया दिएको छ । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको भए पनि १५-१६ खर्बभन्दा बढी खर्च हुने आधार नै नभएको वाग्लेले बताए।
अर्थविज्ञ समेत रहेका वाग्लेले बजेट पनि ‘जेठमा फुकाउने र माघमा सुकाउने’ पुरानै रोगको निरन्तरता दिने गरी आएको टिप्पणी गर्दै भने, ‘यसलाई हामीले गैरजिम्मेवार मानेका छैनौँ,’ वाग्लेले थपे, ‘यद्यपि, विगत भूकम्पपछि एकदमै उकाले उकालो लागेर एकदमै ठूलो आकारमा बजेट फुक्ने अनि माघमा गएर सुकाउने रोगको चाहीँ निरन्तरता हुन्छ कि भन्ने चिन्ता हामीलाई छ।’
उनले अंकको स्वरूप र विश्वसनीयता पुरानै कुराको हुन्छ कि भन्ने डर लागेको बताए । राजस्व संकलनको कतिपय कुराहरू पत्याउने खालको नभएको उनको भनाइ छ। उनले भने, ‘देशको अर्थतन्त्र माथि उठाउनको लागि खर्च नै गर्नुपर्छ भन्ने छैन। खर्च नै नलाग्ने नीतिगत निर्णयहरूबाट पनि अर्थतन्त्रलाई माथि उठाउन सकिन्छ।’ उनले सरकारको बजेट वितरणमुखी र कार्यकर्ता पोस्न प्रयोग हुनसक्नेतर्फ आशंका गरेका छन्। उनले बजेटमा भएका राम्रा कुराहरुलाई समर्थन गर्ने बताए।