‘गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नु पर्छ

‘जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नु आजको आवश्यकता’

Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने बताएका छन् ।

यस्तै, शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । सन्देशमा उनले भनेका छन्, ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।’

लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । ‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, उनको भनाइ छ, ‘नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, अवसर र स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्यायको प्रबन्ध खोजेका छन् । आर्थिक विकासबिना यी केही पनि सम्भव नभएकाले सबै गम्भीर भएर लाग्नुपर्छ ।’

राष्ट्रपति पौडेलले उपलब्ध स्रोतको अधिकतम प्रयोगगरी नागरिकको जीवनस्तर बदले मात्रै आशा जागृत हुने उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘त्यसैले हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ, अनि मात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ र गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सक्छौँ । त्यसले मात्र नयाँ आशाहरू निर्माण हुन सक्छन्, हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो ।’

राष्ट्रपति पौडेलले गणतन्त्र केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गर्दै यसका मूल्यमान्यता र नैतिक दायराहरूलाई भुलेर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताएका छन् । ‘यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौँ । गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौं’, उनले भनेका छन्, ‘आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ ।’

राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको भन्दै यसलाई नेपालमा संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाइएको उल्लेख गरेका छन् । उनले यस व्यवस्थाले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको र देशवासीलाई जोडेको छ भन्दै एक साझा राष्ट्र बनाउने संकल्पका साथ आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको स्मरण गरेका छन् ।

‘जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नु आजको आवश्यकता’
उपराष्ट्रपति रामसहायप्रसाद यादवले देश र आमनागरिकप्रति उत्तरदायी सरकार, संवैधानिक मर्यादाको पालना र जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

१८ औं गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मुलुकमा विद्यमान सबैखाले चुनौतीहरूको समाधान दलीय स्वार्थबाट माथि उठेर गर्न जरूरी रहेको र यसमा नेतृत्व वर्गको भूमिका महत्वपूर्ण हुने धारणा राखे । लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने, आमनागरिकको आवाज सुन्ने र सुशासन स्थापित गर्ने आफ्नो दायित्व र कर्तव्यबोधका साथ दलहरूले जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।

‘गणतन्त्र दिवस लोकतान्त्रिक मूल्यहरूलाई स्मरण गर्ने अवसर हो, नागरिक अधिकार, समानता र विधिको शासनलाई थप सुदृढ गर्दै आमनागरिकको संघर्ष र योगदानलाई सम्मान गर्ने माध्यमका रूपमा यो दिवसलाई लिन सक्नु पर्दछ’, शुभकामनाका सन्देशमा भनिएको छ, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले नागरिकका अधिकार, समानता, समावेशिता र सहभागिता सुनिश्चित गरेको छ । विश्वकै उत्कृष्ट यस शासन प्रणालीका सिद्धान्तलाई कार्यान्वयन गर्न हाम्रो संविधान एउटा महत्वपूर्ण आधारस्तम्भ हो ।’

उपराष्ट्रपति यादवले संघीयता, समावेशिता र समानतालाई संस्थागत गर्दै संविधानले निर्वाचन प्रणाली, लोकतान्त्रिक शासन व्यवस्था, मौलिक अधिकार र प्रेस स्वतन्त्रतालाई प्रभावकारी रूपमा आत्मसात् गरेको उल्लेख गरे । आमनागरिकको विश्वास आर्जित गर्र्न, राजनीतिक स्थिरता कायम राख्न र मुलुकको आर्थिक–सामाजिक उन्नतिलाई मूल विषय बनाएर अघि बढ्न ढिलाइ गर्न नहुने बताउँदै उनले राजनीतिक दल र तिनका नेतृत्वले स्वच्छ शासन व्यवस्था, पारदर्शिता र राजनीतिक उत्तरदायित्व निर्वाहमा चुके लोकतन्त्र कमजोर हुन सक्ने पनि बताएका छन् ।

‘पछिल्लो समय आमनागरिकमा बढ्दो निराशा, कुण्ठा र असन्तुष्टिहरूको तत्काल सम्बोधन गर्दै लोकतान्त्रिक विधिमार्फत अघि बढ्न सक्नुपर्दछ, यसका लागि यो गणतन्त्र दिवसलाई एउटा महान् अवसरका रूपमा लिँदै सबैले संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिने, लोकतन्त्रलाई बलियो र सुदृढ बनाउने अठोट र प्रणका साथ अघि बढ्न अति आवश्यक छ’, उपराष्ट्रपति यादवले भनेका छन्, ‘राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुनेगरी स्थापित वर्तमान शासन व्यवस्था नेपाली वीर सपुतहरूको असाधारण संघर्ष, त्याग र बलिदानबाटै सम्भव भएको हो । यो व्यवस्थासँग जोडिएका जनअपेक्षाहरुलाई आग्रह–पूर्वाग्रहबिना नै सम्बोधन गर्दै आमनागरिकलाई आशावादी बनाउन हामी सबै आ–आफ्नो स्तरबाट जिम्मेवार भई थप क्रियाशील हुन जरूरी छ ।’

उपराष्ट्रपति यादवले गणतन्त्र शासकीय शक्ति जनताको हातमा हुने महत्वपूर्ण राजनीतिक प्रणाली भएको र जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूमार्फत सरकारको नेतृत्व गर्दै जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म भएको उल्लेख गर्दै जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरूप सबै एक ढिक्का र एकीकृत भई अघि बढ्न सके मात्र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुनसक्ने बताएका छन् ।

You may also like