बुटवलमा आमासहित दुई बालबालिकाको विभत्स हत्या

पूर्व श्रीमानबाट हत्याको आशंका

Shares

बुटवल। बुटवल उपमहानगरपालिका–११ स्थित मिलिजुली पथमा एक आमा र उनका दुई बालबालिकाको विभत्स हत्या गरिएको छ। घटना बुधबार बिहान करिब ४ बजे घटेको हो।

स्थानीयका अनुसार हत्या भएका महिला २८ वर्षीया दीपा बस्याल हुन्, जसले केही वर्ष अघि आफ्ना पूर्व श्रीमानसँग सम्बन्ध विच्छेद गरी अर्कैसँग विवाह गरेकी थिइन्। उनलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई घरेलु हतियार—हेम्बर र चक्कुको प्रयोग गरी हत्या गरेको बताइएको छ। दीपासँगै उनका दुई बालबालिकाको पनि हत्या गरिएको हो।

हत्या अभियुक्तको रूपमा स्थानीयले सुजन कोइरालाको नाम सार्वजनिक गरेका छन्। उनी दीपासँग पहिल्यै सम्बन्ध विच्छेद गरेका व्यक्ति भएको जनाइएको छ।

घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्त सुजन कोइरालाले यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगेका थिए। केही वर्षअघि संविधान दिवसको अवसरमा आममाफी पाएपछि उनी जेलमुक्त भएका थिए।

हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक प्रमाण संकलन गरिरहेको छ भने अभियुक्तको खोजी कार्य तीव्र पारिएको जनाएको छ। हत्या पछाडि व्यक्तिगत रिसइवी र बदला प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीले घटना सम्बन्धी थप विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।

You may also like