बुटवल। बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ।
भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो।
जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहहरुसँग भेटेर आपसी सहकार्य र पर्यटक भित्राउनका लागि साझा पहल थाल्ने गरी छलफल गरेको छ।
स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, वाग्लुङको जैमिनी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहहरुसँग भेटघाट गरी पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने र छिटै नै पालिकाहरुका बीचमा सम्मेलन आयोजना गर्ने निर्णय भएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।
उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग बुटवल उपमहानगरपालिकाले भगिनी सम्बन्ध कायम गर्ने सहमति समेत भएको छ।
‘बुटवल देशका सबैजसो स्थानबाट र भारत तथा चीनबाट समेत आउन जानका लागि सहज शहर हो, यहाँबाट देशका सबैजसो स्थानमा जाने गाडीहरु चल्छन् र भैरहवा विमानस्थलबाट समेत हवाइ सेवा उपलब्ध छ, प्रमुख पाण्डेयले भने-यसको लाभ उठाउने गरी बुटवललाई केन्द्र मानेर भारतबाट आउने हिन्दु पर्यटकलाई मुक्तिनाथ र कोरला नाकासम्म लैजाने तथा चीनबाट कोरला नाका हुँदै लुम्बिनी आउने बौद्ध धर्मका पर्यटकलाई सहजीकरण गर्ने उदेश्य हाम्रो हो।’
उनले बुटवलमा सबैका लागि उपयोगी हुने पर्यटक सूचना केन्द्र निर्माण गर्ने र पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा टुर प्याकेजहरु तयार गरेर भारत र चीनका पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए।
‘बुटवल र आसपासका पर्यटकीय स्थलहरु घुम्ने र बुटवलमा रात बिताउने गरी यस्तो प्याकेज तयार गरी भारत र चीनका पर्यटकलाई बुटवलमा भ्रमणको निम्तो दिइनेछ, उनले भने-यसले गर्दा बुटवलको मात्रै नभइ लुम्बिनीदेखि कालीगण्डकी करिडोर क्षेत्रमा पर्ने स्थानीय तहहरुको समेत पर्यटन प्रवर्द्धनमा योगदान पुग्नेछ।’
यसैक्रममा बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रद्र्धनमा सहकार्य गर्ने सहमति भएको छ। कालीगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरी दुई पालिका अघि बढ्ने भएका हुन्।
उपमहानगरपालिकाको टोली मुस्ताङ भ्रमणमा रहेको बेला घरपझोङ गाउँपालिकासँग धार्मिक पर्यटन प्रवद्र्धनसँगै विकास निर्माण र सेवा प्रवाहमा समन्वय तथा सहयोग आदानप्रदानलाई निरन्तरता दिन भगिनी सम्बन्ध कायम गर्ने समझदारी समेत भएको हो। भगिनी सम्बन्धलाई औपचारिकता प्रदान गर्न निकट भविश्यमै आपसी सल्लाहमा कार्यक्रम तय गर्ने निर्णयमा उल्लेख छ।
त्यस्तै बुटवल मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानिय सरकारको भेला आयोजना गरि धार्मिक पर्यटन प्रवद्र्धनको लागि वृहत छलफल र अन्तरक्रिया कार्यक्रमको लागि दुई स्थानिय सरकारले पहल गर्ने प्रमुख पाण्डेयले बताए।
‘बुटवलबाट कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय विकास गर्ने कुरामा दुवै पालिकाकाबीचमा समझ्दारी भएको छ।’ उनले भने ‘अरु पालिकालाई पनि समेटेर बुटवलदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थानलाई व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णय भएको छ।’
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बुटवल मुक्तिनाथ पर्यटकीय प्रवद्र्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने बताए।
‘कालिगण्डकी आसपासका तीर्थस्थलहरुको कसरी प्रवद्र्धन गर्ने गरेर भारतदेखी मुक्तिनाथसम्मलाई पर्यटनले जोड्दा देशको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्छ-उनले भने-ठूलो संख्यामा पर्यटक आए भने यहाँको व्यापार व्यवसाय चलयाममान हुन्छ। त्यसको लागि हामी भगिनी सम्बन्ध पनि कायम गर्दैछौं। यसलाई ऐतिहासिक रुपमा सफल बनाउँछौं।’
त्यस्तै मुस्ताङमा उत्पादित स्थानिय उत्पादनको प्रवद्र्धन तथा बजार व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले पहल गर्ने र बुटवल उपमहानगरपालिकाको उत्पादन प्रवद्र्धनमा घरपझोङ गाउँपालिकाले पहल गर्ने सहमति समेत भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।
यस्तै गरी, वाग्लुङको जैमिनी नगरपालिका, स्याङ्जाको कालीगण्डकी, गुल्मीको कालीगण्डकी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका जनप्रतिनिधिहरुले पनि बुटवलको अभियानमा सँगै अगाडि बढ्ने र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने बताएका थिए।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बुटवल र जैमिनीका बीचमा सहकार्य गरी पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायमा समेत सँगै अगाडि बढ्ने बताए। कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद मगर, उपाध्यक्ष मञ्जु कुमारी दर्लामी, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालालगायतले बुटवलले अगुवाई गरी पर्यटन प्रवर्द्धन र व्यापार व्यवसायमा आदानप्रदान गर्ने उदेश्यमा सँगै अगाडि बढ्ने बताएका थिए।