मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ स्थित विद्युत प्राधिकरण नजिकै त्रिभुवन राजपथमा ‘ब्रेक फेल’ भएको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
सोमबार साँझ करिब ६ः५९ बजे गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उप–मेयर भरत गोपालीको घरभित्र पसेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय, पालुङबाट प्रहरी निरीक्षक सविनबाबु अर्यालको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । दुर्घटनामा परेकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा हाल ठेगाना नखुलेका करिब ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुर रहेका छन् । दुवैको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका क्रममा साँझ ७ः२५ बजे मृत्यु भएको थियो । त्यस्तै, गम्भीर घाइते भएका रघुनन्दन यादव र कमलेश कुमार साहलाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ ।
घाइते अन्य दुई जनामा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ निवासी छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका–१ निवासी रामगुलाम चौधरी छन् । उनीहरूको अवस्था सामान्य रहेको र पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि थाहा नगरपालिका–५ निवासी २९ वर्षका बस चालक राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, पालुङले जनाएको छ ।