काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। आज (सोमबार) बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। बैठकमा क्रियाशील सदस्यता साथै नवीकरणको अवस्थाबारे महामन्त्री गगन थापाले जानकारी गराउने कार्यसूची छ।
त्यस्तै बजेट एवं समसामयिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठकमा गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा संलग्नता आरोपका विषयमा नेताहरूले कुरा उठाउने र सभापति देउवाले जवाफ दिने कार्यक्रम छ । खासगरी कांग्रेस अहिले पार्टीका तर्फबाट गृहमन्त्री रहेका लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण अप्ठ्यारोमा छ ।
भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ । उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै शीर्ष नेताहरूले दिइरहेका छन् ।
अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउपछि भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको नाम मुछिनुका साथै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पार्टीभित्रै र बाहिरबाट कुरा उठिरहेको बेला यो विषयमा पनि छलफल हुने एक नेताले बताए। यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको छ। तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका छन्।